विराटनगर / अविरल वर्षासँगै खोलानालामा आएको बाढीले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका दुई दर्जनभन्दा बढी उद्योग प्रभावित भएका छन्। लगातारको वर्षाले बाढी पस्दा उत्पादन, मेशिनरी र पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार मोरङ व्यापार संघले ५० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको जनाएको छ।
दुहबी नगरपालिका–८ स्थित अरिहन्त मल्टिफाइबर्समा टेंग्रा खोलाको बाढी पसेपछि उद्योगको ७० मिटर लामो पर्खाल भत्किएको छ। उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईंका अनुसार कच्चा पदार्थ, तयारी सामग्री र मेशिनरीमा करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ। करिब ४२०० मजदूरले दैनिक तीन सिफ्टमा काम गर्ने यो उद्योग हाल पूर्ण रूपमा बन्द छ। उद्योगले दैनिक ८५–९० मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्दै आएको थियो।
त्यस्तै, दुहबीका क्वालिटी बिस्कुट, पशुपति सिनप्याक, प्रगति टेक्स्टाइल, बाबा मैदा मिल र हुलास वायर उद्योगमा पनि बाढी पस्दा उत्पादन पूर्णरूपमा बन्द भएको छ। कटहरी गाउँपालिकाका उद्योगहरू पनि डुबानमा परेका छन्। यद्यपि त्यहाँ मेशिनरीमा खासै क्षति नभएको उद्योग संगठन मोरङका उपाध्यक्ष विपिन काबराले बताए। उनका अनुसार सडक अग्लो र उद्योगको बेस होचो भएकाले वर्षातमा पानी जम्ने समस्या देखा परेको छ।
गत वर्ष उत्पादनमा असर परेको रिलायन्स स्पिनिङ मिलले यसपटक समयमै सतर्कता अपनाएर गोदाम र मेशिनरी सुरक्षित स्थानमा सारिएकोले क्षति न्यून भएको छ। हुलास वायरका प्रमुख लेखा अधिकृत आशुतोष यादवले उद्योग चारैतिर पानी जमेको र पम्पमार्फत निकाल्ने प्रयास भइरहेको जानकारी दिए।
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले सबै उद्योगको स्थलगत अध्ययनपछि मात्रै क्षतिको यकिन विवरण आउने तर प्रारम्भिक रूपमा ५० करोडभन्दा बढीको नोक्सानी भएको दाबी गरे। उनले औद्योगिक पूर्वाधारमा प्राथमिकता नदिँदा उद्योगहरूले हरेक वर्ष डुबान र प्राकृतिक प्रकोपको सामना गर्नुपरेको बताए


















