धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीहरूको गुनासोलाई मध्यनजर गर्दै पेइङ सेवामा राहत दिने निर्णय गरेको छ।
अब पेइङ सेवा लिने बिरामीहरूले अप्रेशन शुल्कबाहेक अन्य अतिरिक्त शुल्क तिर्नु पर्ने छैन।
उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले जनगुनासोको प्रत्यक्ष सुनुवाइ गर्दै राहतको निर्णय गरेका हुन्। उनका निर्देशनअनुसार अस्पताल प्रशासनले सोमबार सूचना तथा सर्कुलर जारी गरेको छ।प्रतिष्ठानका अनुसार आउँदो कार्तिक १ गतेदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार पेइङ सेवामार्फत शल्यक्रिया वा उपचार गराउने बिरामीहरूले अप्रेशन शुल्क मात्र पेइङ दरमा तिर्नेछन्।
अन्य सम्पूर्ण सेवा शुल्कहरू (जस्तैः बेड चार्ज, ल्याब, रेडियोलोजी र नर्सिङ सेवाहरू) सामान्य अस्पताल दररेटमै लाग्नेछन्।अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले जारी गरेको सूचनाअनुसार कुनै पनि बिरामी सामान्य वार्डमा भर्ना भई शल्यक्रिया वा प्रक्रियाका लागि इएचएस स्किम अन्तर्गत बिलिङ गर्दा बेड चार्ज, ल्याब परीक्षणलगायत सेवाहरूको शुल्क सामान्य दररेट अनुसार लागू हुनेछ।
अस्पताल प्रशासनका अनुसार अन्य कुनै वार्डबाट पेइङ वार्डमा ट्रान्सफर भएका बिरामीहरूका लागि पनि साविकको शुल्क प्रणाली नै यथावत रहनेछ।
खासगरी पेइङ वार्डमा महंगो शुल्क तिरेर विशेष सुविधासहित उपचार सेवा लिन चाहनेहरु भर्ना हुने गरेका छन् ।
‘पेइङ वार्डमा भर्ना भएका वा अन्य कुनै वार्डबाट पेइङ वार्डमा बेड ट्रान्स्फर भई आएका विरामीहरुको हकमा भने साविकको सूचना बमोजिम नै शुल्क यथावत रहनेछ,’ सूचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया