विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका नर्सहरुले सेवा सुविधा सुधार र न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलन थालेका छन् ।
अस्पताल प्रशासनले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएपछि नर्सहरु असन्तुष्ट बनेका हुन् । उनीहरूले सोमबारदेखि अस्पताल परिसरमै धर्ना कार्यक्रम सुरु गरेका छन् ।
आन्दोलनरत नर्सहरूले पारिश्रमिक वृद्धि, सेवा सुरक्षासहितका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । नर्स संघ मोरङ शाखाका पदाधिकारीका अनुसार, अस्पताल प्रशासनसँग पटक–पटक छलफल गरे पनि ठोस निष्कर्षमा पुग्न नसक्दा आन्दोलन गर्न बाध्य हुनुपरेको हो ।
यसैबीच, अस्पताल व्यवस्थापनले भने नर्सहरूको माग सम्बोधनका लागि छलफल प्रक्रिया सुरु गरिएको र सेवा सञ्चालनमा असर नपर्ने दाबी गरेको छ ।


















