उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र उपमेयर मणीकादेवी दुलालमाथि जेनजी युवा समूहले आक्रमण गरेको छ । तिहारको अवसरमा नगरपालिकाको वडा नम्बर ९ र १० ले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा आइतबार बिहान जेनजी समूहका युवाले आक्रमण गरेपछि कार्यक्रम अस्तव्यस्त बनेको हो ।
चौदण्डीगढी–१० हडिया बजारमा आयोजित सो कार्यक्रममा जेनजी युवाहरूले ‘भ्रष्ट जनप्रतिनिधि हटाऊ’ भन्दै व्यानर, माइक र कुर्सी तोडफोड गरेका थिए । कार्यक्रम सुरु हुनासाथ युवाहरूको समूहले विरोध प्रदर्शन गर्दै मंच कब्जा गरेपछि मेयर, उपमेयरलगायत जनप्रतिनिधिहरू भाग्न बाध्य भएका थिए ।
चौदण्डीगढी–९ का वडाध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतका अनुसार जेनजी युवाहरूले कार्यक्रम स्थल कब्जा गरेपछि जनप्रतिनिधिहरूले सुरक्षा जोखिम महसुस गरी स्थल छाडेका हुन् । उनले भने, “कार्यक्रम सुरु हुनै लागेको थियो । अचानक युवाहरूको समूह आएर व्यानर र माइक हटाएपछि हामी बाहिरियौं ।”
घटनाको कारण चौदण्डीगढी–१० मा रहेको जनउत्थान कृषि तथा पशु सहकारीको विवादसँग जोडिएको बताइन्छ । उक्त सहकारीका अध्यक्ष वडा नम्बर १० कै वडाध्यक्ष धमेन्द्रकुमार खड्का हुन् । सहकारीमा करिब २० लाख रुपैयाँ हिनामिनाको आरोप लगाउँदै जेनजी युवाहरू लामो समयदेखि विरोधमा थिए । युवाहरूले सोही विवादको कारण जनप्रतिनिधिहरूलाई पनि जिम्मेवार ठहर गर्दै आजको कार्यक्रममा आक्रमण गरेको स्थानीय नवराज राउतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया