मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको बीभत्स शव फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ।
इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली गठन गरेर परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धानका लागि इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा ५ सदस्यीय विशेष टोली गठन गरेर परिचालन गरेको छ। टोलीले शनिबारदेखि घटनास्थल वरिपरिका बासिन्दासँग सोधपुछ, प्रमाण संकलन र शंकास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन सुरु गरेको छ। तर, अनुसन्धान सजिलो छैन। प्रहरीलाई वास्तविकता पत्ता लगाउन निकै सकस परिरहेको छ।
क्षतविक्षत अवस्थामा अंशुको शव फेला परेपछि सिंगो गाउँ स्तब्ध बनेको छ। दुई सातादेखि हराइरहेकी ती बालिकाको शव शुक्रबार दिउँसो बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा फेला परेको थियो।
अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएपछि सम्पर्कविहीन बनेकी थिइन्। अभिभावकले खोजी सुरु गरेर प्रहरीलाई पनि खबर गरे। तर, उनको अत्तोपत्तो थिएन। दिन प्रतिदिनको प्रतीक्षा अन्ततः शुक्रबार एक भयावह यथार्थमा टुंगिएको छ। एउटा कुहिएको शव, जसलाई स्थानीयले घाँस काट्ने क्रममा देखेका थिए।


















