लेटाङ । सुनसरीको झुम्का कारागारबाट करिब दुई महिनाअघि भागेका एक फरार कैदीलाई प्रहरीले मोरङको लेटाङबाट पक्राउ गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सुनसरीस्थित झुम्का कारागारबाट भागेका कर्तव्यज्यान मुद्दाका कैदी ४५ वर्षीय लाखबहादुर बिशङ्खेलाई प्रहरीले लेटाङबाट पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारी घर भएका बिशङ्खे मोरङको लेटाङ नगरपालिका–२ फडानीस्थित आफन्तको घरमा लुकिछिपी बसेको सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १० गते साँझ करिब ६ बजे अस्थायी प्रहरी चौकी लेटाङ २ बुधबारेबाट प्रहरी सहायक निरीक्षक किशोर रानामगरको कमाण्डमा खटिएको टोलीले बिशङ्खेलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका कैदीलाई थप कानुनी प्रक्रिया अघि बढाइरहेको प्रहरीले जनाएको छ । उनलाई कर्तव्यज्यान मुद्दामा अदालतले २० वर्ष कैद सजाय तोकेको थियो ।

तपाईको प्रतिक्रिया