गत भदौ २४ गतेको हिंसात्मक प्रदर्शनपछि काठमाडौँको चुच्चेपाटी (भाटभटेनी), सुनसरीको इटहरी र विराटनगरको भाटभटेनी सुपरमार्केटमा भेटिएका १२ वटा शव (मानव कंकाल) को डेढ महिनासम्म पहिचान खुल्न सकेको छैन।
प्रहरी प्रधान कार्यालयका अनुसार शवहरू जलेर पूर्णतः कंकाल अवस्थामा भेटिएकाले पोस्टमार्टम गर्न र मृत्युको कारण खुल्न सकेको छैन। हालसम्म ती शवहरू आफ्नो भएको दाबी गर्न कोही पनि आफन्त सम्पर्कमा आएका छैनन्।
चुच्चेपाटीस्थित भाटभटेनीमा भेटिएका ७ वटा कंकाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा प्लास्टिकका पोकाहरूमा राखिएका छन्। इटहरीमा ४ र मोरङमा १ गरी ५ वटा शव भेटिएका थिए।
सबै शवको पहिचानका लागि डीएनए परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ, तर रिपोर्ट आउन बाँकी छ। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले शवहरू पूर्णरूपमा जलेकाले डीएनए परीक्षणका लागि पठाइएको बताए। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरीमा भेटिएका शव लगभग खरानी भइसकेको अवस्थामा रहेका र एउटा शवको दाबी गर्न परिवार आए पनि रिपोर्ट नआउँदा पुष्टि हुन नसकेको जानकारी दिए।
देशभर २० जनाभन्दा बढीको मृत्यु
भदौ २४ गतेको प्रदर्शनका क्रममा देशभर व्यक्तिगत घर र निजी भवनहरूमा आगलागी हुँदा २० जनाभन्दा बढीको मृत्यु भएको प्रहरीको तथ्यांक छ। प्रहरीका अनुसार कोटेश्वर भाटभटेनी, ललितपुर, काठमाडौंको थानकोट, कास्की र चितवनमा भएका आगजनीका घटनामा प्रदर्शनकारीहरूको मृत्यु भएको थियो। तर, अन्य स्थानमा मृत्यु भएका व्यक्तिहरूको पहिचान खुलिसकेपछि परिवारले शव बुझिसकेका छन्। हाल १२ जनाको शव मात्र पहिचानविहीन अवस्थामा रहेको हो।

तपाईको प्रतिक्रिया