टंकीसिन्वारी (मोरङ) — बुढीगंगा गाउँपालिका–१ टंकीसिन्वारीस्थित श्री राधाकृष्ण मन्दिर सेवा समितिको २५औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशन सम्पन्न भएको छ।

मन्दिर सेवा समितिका अध्यक्ष माधव कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर रहनु भएकाे थियाे ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष थापामगरले गाउँपालिकाले धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“गाउँपालिकामा शनिमन्दिर थिएन, अहिले निर्माण सम्पन्न भइसकेको छ। राधाकृष्ण मन्दिरमा पनि गाउँपालिकाले सकेको सहयोग गरेको छ र आगामी दिनमा अझ थप सहयोग गर्न प्रतिबद्ध छौं।”

उहाँले आफ्नो कार्यकालमा भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् विस्तारसम्मका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो।
“पहिलेको गाउँ र अहिलेको गाउँपालिकामा धेरै फरक देख्न सकिन्छ,” उहाँले जोड दिनुभयो, “हामी विकाससँगै धार्मिक चेतना र सामाजिक सद्भाव सुदृढ बनाउन प्रतिबद्ध छौं।”

देशभर जेन्जी समूहको आन्दोलनका कारण अराजक गतिविधि भइरहेका बेला बुढीगंगा गाउँपालिका भने शान्त र सुरक्षित रहन सफल भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष थापामगरले भने,
“हाम्रो गाउँपालिकाले आपसी एकता, सहकार्य र शान्तिको उदाहरण प्रस्तुत गरेको छ। यो सम्पूर्ण बुढीगंगावासीको सचेतना र विश्वासको परिणाम हो।”
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, अगुवा नागरिक, उद्योगपति, र भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै नयाँ कार्यसमितिको चयनसमेत गरिएको समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया