मोरङ । मोरङको लेटाङमा गत असोज २१ गतेदेखि वेपत्ता भई कार्तिक ७ गते शव फेला परेको, १३ वर्षीया अंशु गौतम हत्यामा संलग्नको पहिचान जटिल बन्दै गएको छ ।
घटनाको अनुसन्धानका विभिन्न विधी अपनाइसकेको प्रहरी अहिले पोलिग्राफ परीक्षणमा लागेको हो । घटना अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता कोपिला चुडाँलका अनुसार अहिले पोलिग्राफ परीक्षणको चरणमा पुगेको हो ।प्रहरीले पोलिग्राफ परीक्षण कार्य परिवारका सदस्यबाट थालेको छ । त्यसपछि क्रमशः अन्य व्यक्तिमा प्रयोग गर्ने कार्य गरिरहेको छ । लेटाङमा अंशु हत्या प्रकरण निर्मला पन्तको बलात्कार र हत्याको प्रकरणसँग मेल खाने स्थितिकै देखिएको छ । निर्मला पन्तको बलात्कार र हत्याको प्रमाणहरु नष्ट गरिएको स्थितिमा शव बरामद भएको थियो । त्यस्तै अंशुको समेत बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । यो प्रकरणमा समेत संलग्नले प्रमाण नष्ट हुने गरी शवको व्यवस्थापन गरेको पाइएको थियो । किनकी प्रहरीले शव बरामद गर्दा डिकम्पोज भइसकेको थियो । तर, कपडा र शव फरक–फरक भेटिएका कारण बलात्कारपछि हत्या भएको आशंका नजिक प्रहरी रहेको छ ।
वेपत्ता भएको ४२ दिन भइसकेको छ । शव फेला परेको पनि २४ दिन पुगिसकेको, यो समयसम्म अहिलेसम्म घटनामा संलग्न पक्राउ पर्न सकेका छैनन् । प्रहरी–प्रशासन अपारधीसम्म पुग्न सकेको छैन । अनेश शंका र उपशंका जन्माइदिएको पनि छ । प्रहरीले शंकाको घेरा तयार गरेरै अहिले अनुसन्धानमा पोलिग्राफ परीक्षणलाई बलियो आधारको रुपमा प्रयोग गर्न थालेको हो । पोलिग्राफ टेस्ट एक प्रकारको परिक्षण हो जसको प्रयोग आपराधिक मुद्दाहरुमा अभियुक्तबाट सत्य कुरा उकाल्नको लागि गरिन्छ । विश्वका विभिन्न देशका प्रहरीहरुले ठूला र अनुसन्धान गर्न जटिल आपराधिक घटनाहरुमा अभियुक्तको बयान लिन यो प्रविधिको प्रयोग गर्ने गर्छन् । गौतमको शव बरामद भएको स्थान बेलबारी–चिसाङ साझेदारी वन र उनी वेपत्ता भएको स्थान साढे चार किलोमिटर दुरीमा पर्दछ । घटना अनुसन्धानमा विशेष टोलि नै परिचालित छ । तर, पनि संलग्न यकिन गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ ।


















