बुढीगंगा — बुढीगंगा गाउँपालिका–४ मा सञ्चालन गरिएको १० दिने डकर्मी (मेसन) तालिम सम्पन्न भएको छ। निर्माणका सीप सिक्न इच्छुक १० जना महिलालाई तालिम प्रदान गरी अाइतबार औपचारिक रुपमा प्रमाणपत्र वितरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले प्रमाणपत्र प्रदान गर्दै तालिमले महिलाहरूको आर्थिक सक्षमता र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष थापा मगरका अनुसार ढुंगा, इट्टा, बालुवा बोक्नेजस्ता गार्हो काममा महिलाहरू वर्षौँदेखि न्यूनतम ज्यालादारीमा सीमित रहँदै आएको अवस्थालाई परिवर्तन गर्न गाउँपालिकाले यो कदम चालेको हो। “अब यी बहिनीहरूले निर्माण क्षेत्रका आवश्यक प्राविधिक सीपसहित आत्मविश्वासका साथ काम गर्न सक्ने भएका छन्,” उनले भने।
थापाले तालिम प्राप्त महिलाहरूलाई स्थानीय स्तरमै रोजगारी सुनिश्चित गर्न उपभोक्ता समितिहरू, स्थानीय समुदाय तथा गाउँपालिकाभित्रका सबै निकायहरूलाई निर्देशन दिइसकेको बताए। भवन निर्माण, बाटो, नाला, ड्रेनलगायतका विकास योजनामा महिला डकर्मीलाई पनि बराबरी अवसर प्रदान गर्ने गरी नीतिगत व्यवस्था गरिने उनको भनाइ थियो।
गाउँपालिकाले आगामी वर्षदेखि डकर्मी तालिम कार्यक्रमलाई संस्थागत गर्दै स्थायी योजना रूपमा अघि बढाउने तयारी गरेको अध्यक्ष थापाले जानकारी दिए। तालिममा सहभागी महिलाहरूले यसलाई जीवनस्तर उकास्ने अवसरका रूपमा मूल्यांकन गर्दै स्थानीय निर्माण क्षेत्रमा आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशिक्षक तथा समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो। गाउँपालिकाले यसअघि पनि सीपमूलक तालिममार्फत स्थानीय महिलालाई आर्थिक क्रियाकलापमा संलग्न गराउँदै आएको छ।


















