विराटनगर । कोशी प्रदेशको गौरवको आयोजना मानिएको खोटाङ जिल्लाको सबैभन्दा लामो १४८ मिटर लम्बाइको बुवाखोला मोटरेबल पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिबार उद्घाटन गरेसँगै खोटाङको दक्षिणी भेगका स्थानीयवासीले अब सहज र सुरक्षित रूपमा आवतजावत गर्न पाउने भएका छन्।
जन्तेढुङ्गा तथा बराहपोखरी गाउँपालिकाको सिमानामा बनेको पुल १७ करोड ५८ लाख रुपैयाँ लागतमा तय समयभन्दा पहिले नै सम्पन्न गरिएको हो। जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले समयभन्दा अघि निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि यो पुल जिल्लामा ‘समयमै बनेको दुर्लभ पूर्वाधार’ का रूपमा हेरिएको छ।
पुल सञ्चालनमा आएपछि दक्षिणी खोटाङका बासिन्दाले विराटनगर, इटहरी, धरान, बेलटार हुँदै झापा–मोरङ–सुनसरी जाने क्रममा नदी जोखिमपूर्वक तर्दै आउनुपर्ने बाध्यता अन्त्य भएको छ। स्थानीयवासीका अनुसार यसले जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा क्षेत्रमा यातायात, स्वास्थ्य सेवा पहुँच तथा आर्थिक गतिविधिमा उल्लेख्य सुधार ल्याउनेछ।
यद्यपि पूर्ण रूपमा सहज यातायातका लागि बुवाखोलामा अर्को पक्की पुल र सुनकोशी नदीमा नयाँ मोटरेबल पुल आवश्यक भएको सरोकारवालाहरू बताउँछन्। सुनकोशीको बंशिलाघाट क्षेत्रमा हाल झोलुंगे पुल नै मुख्य विकल्प रहेको छ भने यो वर्ष बेलीबृज जडानको काम अन्तिम चरणमा पुगेको जानकारी मन्त्री राईले दिएका छन्। बुवाखोलामा बन्ने अर्को पुलका लागि समेत ठेक्का आह्वान भइसकेको छ।
आफ्नै क्षेत्र परेकाले मन्त्री राईले खोटाङको पूर्वाधार विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आएछन्। नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टका अनुसार बंशिलाघाटमा बन्ने बेलीबृजले ‘डबल कनेक्टिभिटी’ सुनिश्चित गर्दै यस क्षेत्रको यातायात प्रणाली झनै सुदृढ बनाउनेछ।


















