अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा उर्लाबारी परिवर्तनशील युवा क्लबको आयोजनामा तथा उर्लाबारी नगरपालिकाको सह–आयोजनामा एकदिने जनचेतनामूलक र्याली सम्पन्न भएको छ।
“प्रविधिको सही सदुपयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मुख्य नारासहित बुधबार बिहान निकालिएको र्यालीमा उर्लाबारीका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
र्याली उर्लाबारी चोकबाट सुरु भई बरगाछी, स्कूलडाँडा हुँदै नगरपालिका परिसरमा पुगेर समापन गरिएको थियो। सो अवसरमा उपस्थित युवा विद्यार्थीहरु विभिन्न चेतनामूलक सन्देश लेखिएका पम्पलेटहरू सहित सहभागीहरू उपस्थित थिए।
लैङ्गिक हिंसा विरुद्ध सामाजिक सचेतना बढाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष गरिमा ढुंगानाले जानकारी दिइन्।
सो कार्यक्रममा जनप्रतिनिधी, विद्यार्थी ,सुरक्षा निकाय, शिक्षक, अभिभावक तथा स्थानीयवासीलगायतको उपस्थिति रहेको थियो।


















