विराटनगर । मोरङ उद्योग व्यापार संघद्वारा विराटनगरमा आयोजना हुन लागेको विराट ट्रेड एक्स्पो–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। संघका सचिव तथा एक्स्पो संयोजक अमित सारडाका अनुसार एक्स्पोका लागि निर्माण गरिएका सबै २३० स्टल हाउसफुल भएका छन्।

पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने एक्स्पो विराटनगर महानगरपालिका–१ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिणतर्फको खाली जग्गामा आयोजना हुँदैछ। एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी चार देशका २३० भन्दा बढी स्टल रहनेछन्।

आयोजकका अनुसार तीनवटा डोमभित्र २०० वटा स्टल निर्माण गरिएको छ। यसका अतिरिक्त अटोमोबाइल्सका लागि १८ र फुड्सका लागि १६ वटा स्टल छुट्टै व्यवस्था गरिएको छ। भारत, बंगलादेश र पाकिस्तानबाट सहभागिता जनाउने ३५ वटा स्टलसमेत सबै बुकिङ भइसकेको आयोजकले जनाएको छ।

औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका विविध सामग्री एक्स्पोको मुख्य आकर्षण रहनेछन्। एक्स्पो स्थलमा अस्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउसको प्रतिरूप निर्माण गरिएको छ, जसलाई उपभोक्ताले सेल्फी जोनका रूपमा प्रयोग गर्न सक्नेछन्। साथै, दर्शकका लागि जलपरी र माछासहितको एक्वेरियम पनि निर्माण गरिएको छ।

एक्स्पो अवलोकनका लागि प्रवेश शुल्क १५० रुपैयाँ तोकिएको छ। बिहान १० बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने एक्स्पोमा स्कुल पोसाकमा आएका स्कुल तथा कलेजका विद्यार्थीलाई बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। एक्स्पो अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया