विराटनगर । विराटनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रहरीले बिचौलिया काम गरी सेवाग्राहीलाई हैरानी दिएको आरोपमा २९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आज (मंगलबार) ती दुई कार्यालयबाट उनीहरुलाई पक्राउ गरेको हो । बिचौलियाको रुपमा सक्रिय भइ दुःख र हैरानी दिएको गुनासो आएपछि निगरानी गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरीमा लगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रहरीले जिल्ला प्रशासनबाट ९ र मालपोत कार्यालयबाट २० जनालाई पक्राउ गरेको हो ।यसैबीच, लेखापढी व्यवसायीहरुले पक्राउको विरोध गरेका छन् । उनीहरुले मालपोत कार्यालयमा तालाबन्दी गर्दै पक्राउ परेकाहरुको रिहाइ माग गरेका छन् ।


















