विराटनगर / मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सुरु हुने विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ ।
मंगलबार आयोजकले पत्रकार सम्मेलन गरेर एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोजक समितिका संयोजक अमित सारडाले डोमसहितको स्टल निर्माणदेखि अन्य सम्पूर्ण तयारी पूरा भएको जनाए । ‘सबै क्षेत्रका स्टल निर्माण भइसकेको छ, पार्किङ पनि निर्माण भइसकेको छ,’ सारडाले भने, ‘अब केही प्रतिशत मात्रै तयारी बाँकी छ । त्यो पनि भोलि बिहानसम्म सकिन्छ ।’
पुस १९ गतेसम्म सञ्चालन हुने एक्स्पोमा करिब २ लाख दर्शकले अवलोकन गर्दा करिब २५ देखि ३० करोडको कारोबार हुने अपेक्षा राखिएको आयोजक संस्था मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए ।
एक्स्पोले कोशी प्रदेशसहित देशभरका औद्योगिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका विभिन्न क्षेत्रका उत्पादन र सेवाहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने राठीले बताए ।
एक्स्पोमा निर्मित ३ वटा हेङ्गर र २ सयभन्दा बढी स्टलहरुबाट कृषिजन्य र औद्योगिक उत्पादनहरु, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका सेवपाहरु साथै छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तानलगायत विभिन्न मुलुकका उत्पादनहरु प्रदर्शनीमा राखिनेछ । आर्थिकमन्दी र लगानीकर्ताको मनोबल खस्किएको बेला मेला आयोजना गर्नु निकै चुनौती रहेको सरोकारवाला संस्थाका नेतृत्वहरुले बताएका छन् । उनीहरुले एक्स्पोले केही मात्रामा भए पनि बजारलाई चलायमान बनाउन र उद्योगी व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालका साना, मझौला र ठूला उद्योगका उत्पादनसँगै भारत, बंगलादेश र पाकिस्तानका वस्तुहरू पनि प्रदर्शनीमा देख्न पाइनेछ । परम्परागत व्यापार मेलाको सीमाभन्दा बाहिर निस्कँदै यस संस्करणमा ज्ञान, प्रविधि र नवउद्यमशीलतालाई केन्द्रमा राखिएको छ । स्टार्टअप, सूचना प्रविधि, कर–लेखा प्रणाली तथा महिला उद्यमशीलता प्रवद्र्धनसम्बन्धी विशेष स्टलसमेत समावेश गरिएको आयोजकको भनाइ छ ।
उद्यमी र युवा व्यवसाय अभिलाषीहरूका लागि व्यवसाय विस्तारका उपाय, डिजिटल सिकाइ, साइबर सुरक्षा, कर–लेखा प्रणालीका नयाँ ढाँचा तथा पर्यटन प्रवद्र्धन विषयमा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने छन् । प्राविधिक छलफलमार्फत संघले व्यवसायमैत्री वातावरण निर्माणमा योगदान पुग्ने अपेक्षा लिएको छ ।
मनोरञ्जनका पक्षलाई जोड दिँदै आयोजकले हरेक साँझ राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति राख्ने तयारी गरेको छ । कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन र उज्जेन शाक्यलगायतका कलाकारहरू एक्स्पोमा प्रस्तुति दिनेछन् । मेला परिसरमा सेल्फी जोन, किड्स जोन तथा फिस–मर्मेड टनेल जस्ता विशेष आकर्षण रहनेछन् । साथै प्रवेशद्वारलाई नेपाली कला–संस्कृति झल्किने गरी डिजाइन गरिएको छ ।
‘रमपम तयारी चाउचाउ’ र ‘मारुती सिमेन्ट’ संयुक्त रूपमा मुख्य प्रायोजक बनेको एक्स्पोले ‘कोशी पर्यटन वर्ष २०८२’ लाई सफल बनाउनसमेत टेवा पुग्ने संघका वरिष्ठ उपाध्यक्ष अनिल साहको दाबी छ । नेपाल–भारत सीमावर्ती क्षेत्रबाट करिब दुई लाख दर्शक आकर्षित हुने अपेक्षा गरिएको छ । २ करोड ५ लाख खर्च अनुमान गरिएको महोत्सवमा २५ देखि ३० करोडको कारोबार गर्ने लक्ष्य राखिएको एक्स्पोका संयोजक सारडाले बताए ।
एक्स्पोमा संघीय सरकार, कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, परिसंघ, उद्योग संगठन मोरङ, घरेलु तथा साना उद्योग महासंघ, विराट व्यापार संघ, मोरङ अटो मोबाइल्स डिलर्स एसोसिएसन, मोरङ इलेक्ट्रिक संघलगायत विभिन्न राष्ट्रिय तथा स्थानीय संघसंस्थाको समेत सहकार्य रहेको छ ।
मोरङ उद्योग व्यापार संघले यसअघि पनि कोशी महोत्सव, पूर्वाञ्चल औद्योगिक व्यापार मेला र विराट महोत्सव व्यापार मेला आयोजना गरिसकेको छ ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका परिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, संघका निवर्तमान अध्यक्ष नविन रिजाल, कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविसकुमार श्रेष्ठ, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जरा, घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलालगायतले आर्थिकमन्दीका बेला आयोजित एक्स्पोले बजारलाई केही मात्रामा भए पनि चलायमान बनाउने र उद्योगी व्यवसायीको खस्किएको मनोबल थोरै भए पनि उकास्ने विश्वास व्यक्त गरेका थिए ।


















