नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । प्रदेश कमिटीको पदाधिकारी र सचिवालय बैठकले १०१ जना आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो ।
प्रदेश कमिटीले सिफारिस गरेको सूचीको पहिलो नम्बरमा पार्टीका पूर्वउपाध्यक्ष गुरु बरालको नाम छ । मोरङ जिल्ला कमिटीले पठाएका १६ जनाको सूचीका आधारमा प्रदेशले बराल र रोमनाथ ओलीसहितको नाम केन्द्रमा पठाएको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
बौद्धिक नेताको छवि बनाएका बराललाई जिल्लाले नै समानुपातिकतर्फ सिफारिस गरेको थियो । उम्मेदवार सिफारिसको विषयलाई लिएर एमालेभित्र आन्तरिक विवाद र असन्तुष्टि देखिएको छ । सिफारिस प्रक्रिया पारदर्शी नभएको र बन्द कोठाभित्र गोप्य ढंगले नाम छानिएको भन्दै नेता–कार्यकर्ताहरूले विरोध जनाएका छन् ।एमाले जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीले सार्वजनिक रूपमै आपत्ति जनाएका छन् । आम कार्यकर्ताको भावना र योगदानलाई बेवास्ता गरी गरिएको उल्लेख गर्दै उनले यो छनोट प्रक्रिया एक प्रकारको छल र अन्याय हो ।
पार्टीको यो निर्णयले तल्लो तहका कार्यकर्ताको अधिकार खोसिएको आरोप समेत उनको छ ।


















