काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएका गल्तीहरू सच्याइने बताएका छन् । निर्वाचन आयोगमा पेस गरिएको सूची न्यायोचित नभएको भन्दै चौतर्फी आलोचना भएपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
पार्टीले बुझाएको बन्दसूचीलाई लिएर भित्र र बाहिर तीव्र विरोध भएपछि नेता पराजुलीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । ‘सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्त्वपूर्ण काम भए। समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछ,’ उनले लेखेका छन् ।
सुशासन र विधिलाई पार्टीको मुख्य जग मान्दै आएको रास्वपाभित्र समानुपातिक सूचीका नामहरू समावेशी र न्यायपूर्ण नभएको गुनासो बढेको छ । यसै सन्दर्भमा नेता पराजुलीले सुशासन र विधिको जगलाई कायम राख्न देखिएका कमजोरीहरू सुधार गर्ने बताएका छन् । पार्टी नेतृत्वमाथि सूची सच्याउन दबाब बढिरहेका बेला नेता पराजुलीको यो भनाइ बाहिर आएको हो ।

तपाईको प्रतिक्रिया