काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिहरूलाई धम्की दिएको आरोपमा नेपाली नागरिक प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन् ।
फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनका अनुसार ३३ वर्षीय पाठकलाई डिसेम्बर ३१ मा मालोलोस सहरअन्तर्गत बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसो क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठकले अख्तियार प्रमुखसहित १० जना उच्च प्रोफाइल व्यक्तिलाई धम्की दिएको खुलेको छ ।पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले करिब १ महिनाअघि फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी गरिसकेको थियो । जबरजस्ती असुली र आपराधिक षड्यन्त्रसम्बन्धी कसुरमा मंसिर २६ गते इन्टरपोलमार्फत डिफ्युजन नोटिस पनि जारी गरिएको थियो ।
फिलिपिन्सको इमिग्रेसन ब्युरोले पाठक विदेशमा रहँदा गम्भीर सुरक्षा जोखिमसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको जनाएको छ । अनुसन्धानका क्रममा उनले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साएको, आर्थिक सहयोगको प्रस्ताव गरेको तथा हतियारमा पहुँचबारे चर्चा गरेको विवरण भेटिएको बताइएको छ ।
त्यस्तै, उनी १ उच्च पदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षड्यन्त्रसँग पनि जोडिएको दाबी गरिएको छ । प्रहरी अनुसन्धानअनुसार पाठक सन् २०२५ अगस्ट १८ मा फिलिपिन्स प्रवेश गरेका थिए ।
उनलाई डिसेम्बर १८ सम्म बसोबासको अनुमति दिइएको थियो । अहिले उनीमाथि सम्बन्धित निकायमार्फत थप कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया