विराटनगर । कोशी प्रदेशकाे सरकार पुनर्गठनकाे तयारी भएकाे छ । सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको हाे । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यहीँसाता नयाँ मन्त्रीको शपथ हुनेछ ।
नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको बताए ।नेकपा एमालेबाट मन्त्री बन्ने आकांक्षीहरूको सूचीमा ६ जनाको नाम छ, जसमध्ये चार जना मन्त्री बन्नेछन् । एमालेबाट बिदुर लिङ्थेप, चिन्तन पाठक, निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहतामध्ये ४ जना मन्त्री बन्नेछन् ।
नेपाली कांग्रेसको तर्फबाट चार जनाको नाम मन्त्रीका लागि लगभग निश्चित भएको छ ।कांग्रेसबाट डाक्टर शेखर काेइरालाकाे समूहबाट मानबहादुर लिम्बू, कृष्णप्रसाद सिटाैलाकाे समूहबाट भीम पराजुली र संस्थापन समूहबाट इसराइल मन्सुरी, प्रदीप सुनुवार मन्त्री बन्ने लगभग निश्चित छ ।
वर्तमान सरकारमा नेकपा एमालेबाट राम राना आर्थिक मामिला, पाँचकर्ण राई सामाजिक विकास, रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन, र एकराज कार्की, खानेपानी, सिँचाइ मन्त्री छन् । नेपाली कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास र स्वास्थ्य, खगेनसिंह हाङ्गाम कृषि र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।
















