काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा सुरक्षा पोस्ट बढाउने गृहकार्य भइरहेको बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिको बैठकमा सोमबार उनले १० किमिको फरकमा पोस्टहरू राख्ने तयारी भइरहेको जानकारी दिए । बैठकमा सांसदहरूले सीमा सुरक्षा कमजोर भएकोबारे सरकारको धारणा मागेका थिए । ‘हामीले सीमामा ‘काउन्टर इन्टेलिजेन्ट’ परिचालन गर्न लागेका छौं,’ थापाले भने । भारतसँगको खुला सीमाका कारण कतिपय अवस्थामा सुरक्षा दिन कठिन भएको उनले बताए ।

पश्चिमी भेगमा तत्काल सुरक्षाकर्मी बढाउने योजना नरहेको उनको भनाइ छ । बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट धारणा राख्दै भूमिसुधार, गरिबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले कूटनीतिक पहल गरी सीमा समस्या समाधान गर्ने बताइन् ।

०२५ सालसम्म नेपाल आफैंले नक्सा बनाउन नसकेकाले भारतले बनाएको नक्सा प्रयोग हुने गरेको उनको भनाइ छ । हाल नेपालकै नापी विभागले बनाएको नक्सा प्रयोगमा रहेको उनले जानकारी दिइन् । सजिलोका लागि गुगलबाट झिक्दा भारतले बनाएको नक्सा प्रयोग हुने गरेको उनले बताइन् । दुई देशको सहमतिबिना सीमाको नक्सा परिवर्तन हुन नसक्ने उनको दाबी छ ।

बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइए पनि उनी आएनन् । राज्यव्यवस्थाले कात्तिक १९ गते प्रधानमन्त्री ओलीलाई बोलाएर सीमा अतिक्रमणबारे जानकारी लिने निर्णय गरेको थियो । समितिको बैठक सुरु हुनुभन्दा आधा घण्टाअघि स्वास्थ्यका कारण प्रधानमन्त्री नआउने जानकारी गराइएको थियो । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया