सुनसरीको दुहबी १० सिमरीयामा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रशुती गृह) को उदघाटन गर्नु हुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले स्वास्थ्यको क्षेत्रमा दुहबी नगरपालिका एक नम्बर प्रदेशकै नमूना नगर बनाउँने उद्घोष गर्नुभयो । दुहबीमा रहेको ६ ओटा स्वास्थ्य चौकीलाइ स्वास्थ्यको मापदण्ड अनुसार अत्याधुनिक स्वास्थ्य उपकरण सहित बर्थिङ सेन्टर (प्रशुती गृह) भएको जानकारी दिनुहुँदै ढुक्क भएर सुरक्षित सेवा लिन नगरवासीलाइ आग्रह गर्नुभयो ।

मेयर गच्छदारले दुहबीको सम्पूर्ण स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रशुती गृह) रहेको सुनसरीमै एकमात्र स्थानिय तह रहेको दाबी गर्नुभयो । साथै वहाँले अत्याधुनिक भिडीयो एक्सरे मेशिन सहितकोसेवाकालागि कार्यपालिकाको बैठकबाट १६ लाख ५० हजार बजेट बिनियोजन गरिसकेकाले विपन्न वर्गकाहरुले प्रत्यक्ष लाभ पाउँने समेत बताउँनु भयो । केहि दिन अगाडी सिमरीयामा भएको जनतासँग मेयर कार्यक्रमको निशुल्क आँखा शिविरमा मेयर गच्छदारले आफु मेयर रहुन्जेल जल बिन्दु,मोतीया बिन्दु र आँखामा मासु पलाएका दुहबीबासीहरुकालागि निशुल्क शल्यक्रिया गराउँने प्रतिबद्धता दोहोर्याउँनु भयो । उदघाटन समारोहमा दुहबी नगर उपप्रमुख सुनिता दाहाल(साह) दुहबी शिक्षा शाखा प्रमुख निलमणी दाहाल, स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर प्रसाद मेहता, दुहबी १० का वडाध्यक्ष लधुराम माझी जनता मावि व्यवस्थापन समितिका अध्यक्ष हरी प्रसाद खड्गीले शुभकामना मन्तव्य दिनुहुँदै सफा र सुरक्षित प्रशुति सेवा लिन वडावासीहरुलाइ आग्रह गर्नुभयो । उपप्रमुख दाहालले उपमेयरसँग आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरीलाइ भिटामिन खर्चकालागि रु ५ सय सहयोग उपलब्ध गराइएकोले त्यसको लाभ लिन आग्रह गर्नुभयो । दुहबी नगरपालिकाले अनिवार्य चार पटक सुत्केरी जाँच गराउँनेलाइ ४ सय र १ हजार अतिरिक्त सुत्केरी खर्च समेत दिने गरेको छ । सो अवसरमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ७ जना महिला स्वास्थ्य स्वंय सेवीका र दुहबी १० सिमरीया स्वास्थ्य चौकीका पूर्व इञ्चार्ज राजेन्द्र यादवलाइ दोसल्ला ओढाइ सम्मान समेत गरिएको थियो । उदघाटन समारोहमा दुहबीको ६ ओटा स्वास्थ्य चौकी प्रमुखहरु, दुहबी ११ का वडाध्यक्ष आशाराम चौधरी, दुहबी १० का वडा सदस्यहरु, महिला स्वास्थ्य स्वंय सेवीकाहरु वडावासी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया