काठमाण्डौ – अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्द्धनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद् र ३ वटा सरकारी बैंकहरुबीच सहकार्य गर्न काठमाण्डौको एक होटलमा भएको कार्यक्रममा अर्थ मन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग गर्ने कानुनी व्यवस्था गरेको र त्यस्तो नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही हुने चेतावनी दिनुभयो ।

‘तपाईँहरुले नै जम्मा गरेको निक्षेपबाट बैंकले ऋण परिचालन गर्ने हो, त्यसमा बैंक जिम्मेवार बन्नुपर्छ, उद्यम गर्न चाहनेलाई कुनै बैंकले सानो ग्राहक हो, यसलाई भेट्न जरुरी छैन भन्दै हिच्किचाहट गरेमा हामीलाई सम्पर्क गर्नुहोस, हामीसँग हटलाइन र इमेल पनि छन्, अर्थ मन्त्रीको इमेल पनि छ, सबै प्रक्रिया पूरा गर्दा पनि ऋण नपाएको रहेछ भने अर्थ मन्त्रालयले एक्सन लिन्छ ।’

सरकारले स्वरोजगार या उद्यम बन्न चाहने युवालाई ५ देखि ६ प्रतिशतसम्मको ब्याज अनुदानमा विभिन्न प्रकारका ऋणको व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया