अटो टेम्पो चोरी गरेर भारत लैँजादै गर्दा विराटनगरबाट दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ का राजकुमार यादवको अटो टेम्पो घरै अगाडि पार्किङ गरेर राखेको अवस्थामा मंसिर २६ गते चोरी भएको थियो । को २ ह ७७०० नम्बरको टेम्पो भारत लैँजादै गरेको अवस्थामा फेला पारेर विराटनगर–१४ का ३२ वर्षीय रुपनारायण यादव र ३५ वर्षीय अनुज यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्नले टेम्पो एक पटक भारत पु¥याएर नेपाल ल्याएको खुलेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले भारत पु¥याइएको टेम्पो फेरी नेपालतिरै लिएर आएका बेला चोरीमा संलग्नलाई पक्राउ गर्न सकिएको जानकारी दिए । नेपाल ल्याइएको टेम्पो पुनः भारत लिएर जाने क्रममा विराटनगर–१८ एकीकृत भन्सार जाँच चौकी (आईसीपी) नजिक सडकमा फेला पारिएको उनको भनाइ छ ।

पुरानै नम्बर प्लेटका आधारमा चिनिएको टेम्पो नियन्त्रणमा लिएर चोरीमा संलग्न दुई जनालाई पक्राउ गरिएको खिँउजूले बताए । पक्राउ परेका दुवै जना विरुद्ध चोरी मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया