काठमाडौँ ।  काठमाडौंको सामाखुसीबाट बुधबार तीनजना बच्चा अपहरण गर्नेलाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरी प्रवक्ताका अनुसार मंसिर ३० गते सामाखुसीबाट रुपा (नाम परिवर्तन) नामक महिलाका तीन बच्चाको चिनेजानेकै आशिष सिजापतीले अपहरण गरेका हुन् ।

आमा पोखरा गएको अवस्था पारी ‘तिम्रो ममीले होटलमा लगी राख्नु भन्नु भएको छ भन्दै’ बानेश्वरका आशिषले बिहान स्कुल जान लागेका बच्चाको अपहरण गरेका थिए । बच्चाहरुका मामा पर्ने आशिषले टोखाको ब्लुस्टार होटलमा उनीहरुलाई लगी त्यहींबाट रुपालाई फोन गरी फिरौती माग गरेका थिए ।

‘तिम्रा छोराछोरी मेरो कब्जामा छन्, छुटाउने भए तीन लाख देउ,’ उनले भनेका थिए । तर, रुपाले आशिष चिनेजानेकै मान्छे भएको त्यस्तो गरेको होला भनेर पत्याइनन् । बुधबार पोखराबाट फर्किदा घरमा छोरा छोरी र भाञ्जी नभएपछि उनले प्रहरीमा खबर गरेकी थिइन् ।

महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुको होटलको कोठा नं ४०४ बाट उद्धार गरेको थियो । बच्चाको उद्दारसँगै गोरखाका विनोद थापालाई पनि पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए । उनीहरुलाई महानगरीय प्रहरी परिसर महाराजगञ्जमा राखिएको छ ।

प्रहरीको सोधपुछमा सिजापतिले आफूले दुई दिनमा दुई वटा अपहरण गरेको बताएका थिए । जिल्ला अदालतले उनीहरुलाई सात दिन थुनामा राखी सोधपुछ गर्ने अनुमति दिएको प्रहरीले बताएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया