काठमाडौँ । हुम्लामा सुर्खेत तथा नेपालगञ्जबाट आयात हुने गरेको नुन तथा चामललगायत अरू खाद्यान्न अब जुम्लाबाट गर्न थालिएको छ । छोटो दूरी भएकाले जुम्लाबाट सीता एयरको जहाजले जुम्ला विमानस्थलबाट हुम्लाका लागि ढुवानी गरिरहेको हो ।

देशको सडक सञ्जालले नछोएको हुम्लाका लागि दैनिक उपभोग्य वस्तु जहाजमै ढुवानी गर्नुको विकल्प छैन । जुम्लामा बाटो सहज भएपछि नेपालगञ्जबाट गाडीमा जुम्ला र जुम्ला विमानस्थलबाट हुम्ला नुन र कहिलेकाहीँ चामल ढुवानी गर्न थालिएको ढुवानीको जिम्मा लिएको हिमाली कार्गो सर्भिसका प्रमुख प्रदीप गौचनले जानकारी दिनुभयो ।

आफूले हुम्लाका लागि बर्सेनि एक हजार एक सय २२ क्विन्टल नुन ढुवानी गर्ने जिम्मा लिएको जानकारी दिनुभयो । कर्णाली क्षेत्रको हवाई ढुवानीमा लामो समय काम गरिरहेको उक्त कार्गोले भने कहिलेकाहीँ मुगुबाट समेत ढुवानी गर्ने गरेको बताएको छ । यसैगरी नुन ढुवानीका लागि जिम्मा लिएको अर्को कङ्ग्री निर्माण सेवाका प्रमुख कलबहादुर लामाले पनि एक हजार एक सय २२ क्विन्टल नुन ढुवानी गर्ने जिम्मा लिएको बताउनुभयो । जुम्लाबाट हुम्ला छोटो दूरीले धेरै उडान हुने भएकाले सजिलो हुने भएको उहाँले जानकारी गर्नुभयो । जुम्लाबाट हुम्ला उडान १५ देखि २० मिनेट लाग्ने गरेको छ ।

जहाज हुम्लामा बस्न नसकेको समयमा जुम्लामा चामल फाल्ने र पछिल्लो दिन जाने गरेको पाइन्छ । नेपाल साल्ट ट्रेनिङमा नुनको मूल्य रु। नौ रुपियाँ भए पनि ढुवानी निःशुल्क गरेर जनतालाई नुन सहुलियतमा दिने गरिएको छ । ढुवानी जहाजबाट गर्दा यसको मूल्य १० गुणा बढी हुन्छ ।

कर्णाली करिडोर सडकले भने हुम्लाको विकासमा ठूलो टेवा पुग्ने भएकाले सडक निर्माणमा सङ्घ र प्रदेश सरकारको प्राथमिकतामा तीव्र गतिमा अगाडि बढेको छ । बिहीबार जुम्ला विमानस्थलमा रहेको चामलसमेत हुम्ला सारिएको छ । प्रतिजहाजमा १३ क्विन्टल नुन ओसार्ने गरिएको सीता एयर जुम्लाका शेरबहादुर मल्लले जानकारी दिनुभयो । अाजकाे गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया