बाग्लुङको तमानखोला गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ।

आइतबार रातीको ठूलो वर्षासँगै घरमाथिमाट पहिरो खसेपछि घरमा सुतिरहेका पञ्चकुमारी श्रीपाइली (४५) , असारी श्रीपाइली (७०)  र प्रवीण श्रीपाइली (१२) को मृत्यु भएको हो।

घटनाबारे थप विवरण बुझ्न र घाइतेहरुको उद्धार गर्न प्रहरी घटनास्थलतर्फ गएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार पहिरोमा पुरिएर घाइते भएका ७ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।  तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।

यस्तै लगातारको पानीले स्थानीय बडिगाड खोलामा बाढी आएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत गर्ने बाग्लुङ–बुर्तिवाङ सडक भत्किएको छ।

बाटो भत्किँदा पोखरा, कुस्मा र बाग्लुङ बजारबाट पश्चिम बाग्लुङ जाने यातायातका साधन अलपत्र परेका छन्।

पोहोर भदौमा आएको पहिरोले बनाएको तुरतुरे ताल पनि गए राती बडिगाड खोलामा आएको बाढीले भत्काइदिएको छ।

ताल भत्किएपछि पानीको सतह एक्कासी बढेको र त्यसले मध्यपहाडी लोकमार्ग भत्काएको प्रमुख जिल्लाअधिकारी क्षेत्रीले बताए। उनका अनुसार अहिले पानीको सहत घट्दै गएकाले अरू क्षतिको सम्भावना भने न्यून छ।

तपाईको प्रतिक्रिया