दैलेख– अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला फेला परेकी छिन् ।

उनी जंगलमा फेला परेकी हुन् । तर सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले अपहरण गरेर लैजाने समूहले शाहीलाई जंगलमा छोडेर गएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।

उनीहरुलाई शनिवार राति अज्ञात समूहले अपहरण गरेको हो । शनिबार राति साढे १२ बजेतिर शाही र उनकी श्रीमती अपहरणमा परेका थिए ।
घरमै सुतिरहेका उनीहरुलाई अज्ञात समूहले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

करीब १५ जनाको समूहले गाउँपालिका अध्यक्षसहित उनकी पत्नीलाई अपहरण गरेपछि उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपि हरी ओलीले भने–‘अपहरणको खबर आएको छ । हामीले खोजी कार्यलाई तिव्रता दिएका छौं ।’

नेकपाका विदेश विभाग उपप्रमुख रहेका विष्णु रिजालले हिजो राती ठॉटीकॉध-२ को श्रीपाटामा रहेको आफ्नै घरबाट मध्य राती अपहरण गरेर बिजारेको जंगल हुँदै कालीकोटको भर्तांतिर लगिएको जानकारी आएको जनाएका छन् ।

दैलेखमा डीएस्पी हरि ओली, सुर्खेतमा डीआइजी पूर्णचन्द्र जोशी र काठमाडौंमा गृहसचिव प्रेम राईसँग समन्वय भइरहेको उनले जनाएका छन् । । लेकमा हिउँ परेको छ बताउँदै उनले दैलेखको तिलेपाटा र कालीकोटतिरबाट पनि प्रहरी परिचालन भइसकेको जानकारी दिए ।

उक्त घटनामा विप्लव नेकपाका नेताहरुको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ ।

गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले अध्यक्ष शाहीलाई केही समयअघि चेतावनी पत्र दिएका थिए । सोही कारण शाहीको अपहरणमा विप्लव समूहको संलग्नताको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया