काठमाडौं / मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका– ७ को सिमानामा झन्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको हो ।

बकैया गाउँपालिका–१२ का वडा सचिव लक्ष्मण घिमिरेलेका अनुसार मुस्लो देखिएको स्थानमा हवाईजहाज खसेको आशंकामा इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडिसकेको छ । जहाज खसेको आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेकाेछ । उनले मुस्लो देखिएको स्थानमा भर्खरै हेलिकप्टर आएको देखिएको पनि बताए ।

द्रुतमार्ग निर्माणमा खटिएको सेनाको टोली पनि घटनास्थलतर्फ जाँदै गरेकाे बताइएकाे छ । यसैबीच नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले नेपालमा रहेका आन्तरिक विमान र नेपालको टावरसँग सम्पर्कमा आएका कुनै पनि विदेशी विमानसँग सम्पर्क विच्छेद नभएको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया