इनरुवा/दिनभर सयौ सेवाग्राहीहरुको भिडभाड हुने अड्डामा जथाभावी फालिएका फोहोरको थुप्रोमा कार्यालय समयपछि चरोमुसो नभएको बेला एकान्तमा लाखौ रुपैयाको बिटो भेट्दा कसैले के गर्लान ?

अधिकांशको जवाफ हुन सक्छ,‘पैसा देखेपछि महादेवको तीन नेत्र’ भनेझै पक्कै फेला पार्ने चुपचाप राख्छ । तर इनरुवा मालपोत कार्यालय परिषरमा भेटिएको त्यस्तै पाँच लाख रुपैयाको बिटो भने त्यहीकी एक कार्यालय सहयोगीले प्रहरीलाई बुझाएकी छिन ।

जताजतै लुट, अनियमितता, भ्रष्टाचार र बेईमानी गरेर पैसा कमाउने होडमा लागेको नेपाली समाजमा ईमान्दारिताको खडेरीलाई तोडेर ठूलो रकम भेटेपनि एकछिन पनि नसोची तत्कालै सम्बन्धितलाई बुझाउन हतारिने ति कार्यालय सहयोगी हुन, मालपोत कार्यालय इनरुवाकी कार्यालय सहयोगी कोपिला दाहाल ।

जाडो महिनामा चारबजे विदा हुने अड्डा सवै सेवाग्राहीहरु र कार्यालयका कर्मचारीहरु घर फर्किएपछि साझ पाँच बजे छि कार्यालय सहयोगी दाहालले बढार्ने क्रममा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाको परिषरभित्रको फोहरको थुप्रोमा एक लाखको बिटो बिटो रहेको पाँच बिटो रकम फेला पारेर प्रहरीलाई बुझाएकी हुन ।

भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाका नायव सुब्बा गोविन्द पौडेलका अनुसार कार्यालय सहयोगी पाँच लाख रकम फेला परेपछि तुरुन्तै कार्यालयका कर्मचारीहरुलाई खबर गरी सो रकम प्रहरी बोलाई मुचुल्का गरेर बुझाईएको थियो ।

नासु पौडेलका अनुसार सोमबार बढी भिडभाड हुने मालपोतमा सो रकम भेटिए कर्मचारीले सेवाग्राहीहरु र लेखापढी व्यवसायीहरुलाई समेत खबर गरी कस्को रकम हराएको हो ? प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा सम्पर्क राख्न सूचना जारी गरिएको थियो ।

सूचनाका आधारमा मंगलवार दिउसो १ बजेपछि मात्र फोहरको थुप्रोमा झरेको पाँच लाख रकम दावी गर्दै एक व्यक्ति जिल्ला प्रहरी कार्यालय इनरुवा आएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका २ घर भएका टंक ढकालले अशंबण्डा गरी हक हिस्सा बाबुआमा दाजुबाट पाउँदा उनीहरुले दिएको रकम ग्लोबल आईएमई बैंक इटहरी र इनरुवाबाट १५ लाख रुपैयाँ झिकी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवामा झोलामा राख्दा खसेको बताएका थिए ।

रकम दावी गर्ने टंक ढकालले आफ्नो रकम भएको दावी गरी प्रमाण पेश गरेपछि सुनसरी प्रहरीले मंगलवार प्रहरी नायव निरीक्षक शिव शर्मा धिमालले उनका छिमेकी आफन्तको रोहवरमा पाँच लाख रकम बुझाएको जिल्ला प्रहरी कार्यालय इनरुवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया