काठमाडौं । पुस १० गते बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्यग्रहण काठमाडौंमा विहान ८: ४३ मा सुरु भई ११ : ३३ मा सकिनेछ सुदूरपश्चिमको महेन्द्रनगरमा ८ : ३८ मा सुरु भई ११ : १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ : ४८ मा सुरु भई ११ः २७ मा सकिनेछ ।

ग्रहणको अबधि २ घण्टा ४९ मिनेटसम्म रहेनछ । करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलीय घटना भएको खगोलविदहरुले बताएका छन् ।

यो सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रास मात्र देखिने शिक्षा मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए ।

चन्द्रमाको छायाँको व्यास सूर्यको भन्दा सानो भएकोले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिने उनले बताए । त्यसैले यसलाई रिङ अफ फायर पनि भनिन्छ ।

यस्तो देखिने स्थानहरु साउदी अरबबाट शुरु भएर कतार, यूएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बँगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिँगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुन्छ ।

तर विरल छायाँ भने पूर्वी युरोपको केही भाग, एसियाको अधिकाँश भाग (केही उत्तरी भाग बाहेक), अष्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने शर्माले बताए ।

काठमाडौंबाट भने खण्डग्रास सूर्यग्रहणको रुपमा मात्र देख्न सकिनेछ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ ।

यस सूर्यग्रहणमा चन्द्रमा पृथ्वीबाट सवभन्दा टाढा पुगेको केही दिन पछि मात्र चन्द्रमाले सूर्यलाई छेक्ने हुँदा पृथ्वीबाट अवलोकन गर्दा यसले सूर्यबाट आएका प्रकाशलाई पूर्णरूपमा नछेक्ने हुदाँ सूर्य केवल रिङ आकारको गोलाकार पिण्डको रुपमा देखिनेछ ।

तपाईको प्रतिक्रिया