काठमाडौं / यति बेला फेरी चितवनमा एउटा घटनाले सबैको ध्यान तानेको छ । अस्ट्रेलियामा पढ्न गएकी श्रीमती रञ्जना मैनाली नेपाल फर्के लगतै श्रीमान रविकान्त रुवालीले आत्महत्या गरेको घटनाले चर्चा पाएको हो । चितवन जिल्ला अदालतमा चलिरहेको सो सम्बन्धि मुद्दामा  रञ्जनालाई अदालतले एक लाख रुपैया धरौटीमा रिहा गरेको छ ।

रञ्जनाले गरेको अस्वभाविक ब्यवहारका कारण रविले आत्महत्या गरेको भन्दै रविका परिवारले रञ्जना विरुद्ध अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेका थिए । एक साता देखि थुनामा रहेकी रञ्जनाको विषयमा बिहिबार वहस सकिएपछि अदालतले एक लाख धरौटीमा रिहा गरेको हो ।

२०७४ फागुन ३ गते रञ्जना र रविको विवाह भएको थियो । विवाहपछि रञ्जना पढ्नका लागि अष्ट्रेलिया उढिन् । उनको पढाई खर्च सबै रविले नै व्यहोरे । परिवार स्रोतका अनुसार उनले ३ वर्षको अवधिमा ५० लाख नेपाली रुपैयाँसम्म पठाइसकेका थिए ।

रविकान्तले महिनैपिच्छे १८ सय अस्ट्रेलियन डलर पठाउँदै आएका थिए ।

पत्नी विदेशमा भएपनि रविकान्तको ससुरालीसँग राम्रै सम्बन्ध थियो । सासु–ससुराले आफ्नै छोरासरह माया गर्ने भएकाले रविकान्त निकै खुशी थिए । भदौ महिनामा ससुराको हात भाँचिएपछि रविकान्त हेटौंडा बस्दै आएका थिए । चितवनको पसल रविका भाइले हेर्दै आएका थिए ।

मंसिरमा दिदीको बिहे हुने भएपछि रञ्जना अस्ट्रेलियाबाट घर फर्किने भइन् तर रञ्जना फर्किनेबारे रविकान्तले सुइँकोसम्म पाएनन् । १ वर्षअघि रविका भाइ (रञ्जनाका देवर)को बिहेमा नआएकाले यसपालि दिदीको बिहेमा पनि नआउने रविकान्तले अनुमान लगाएका थिए ।

रञ्जनाले फेसबूकमा नेपाल आउने कुरा लेखेपछि मात्रै रविकान्तले उनी बिहेमा आउने कुरा थाहा पाए । रञ्जनाको व्यवहारले रविकान्त खिन्न थिए । पत्नी विदेशबाट आउने भएपछि रवि ससुरालीलाई खबरै नगरी काठमाडौं पुगे रञ्जना ‘रिसिभ’ गर्न ।

रञ्जना काठमाडौं पुग्ने साँझ ८ बजे रवि विमानस्थल गए । रञ्जनालाई रविकान्तले अंकमाल गर्न खोजे तर रवि झसङ्ग भए । रञ्जनाले रविलाई भनिन्, ‘मलाई न छोऊ, यदि छोएमा म पुलिस केश गर्दिन्छु ।’

विमानस्थलबाट ट्याक्सीमा बाहिर जाने कुरामा पनि विवाद भयो । रञ्जनाले शर्त राखिन् – ‘यदि मलाई हेटौडा लैजाने भए जान्छु, होइन भने म आफ्नै हिसाबले जान्छु ।’

रञ्जनाको शर्त अनुसार रविकान्तले उनलाई ससुरालीमा पुर्‍याइदिए । त्यसपछि उनी राती नै चितवन घर फर्किए । मंसिर ४ गते पत्नी रञ्जनाकी दिदीको बिहे भएकाले उनी बिहानै ससुराली पुगे । उनी विवाहमा सहभागी भए तर विवाहमा रञ्जनाले उनीसँग फोटो खिच्न पनि मानिनन् ।

मंसिर ५ गते बिहे पार्टी थियो, सबै सहभागी थिए । मंसिर ६ गते बिहान रविकी सासुले छोरी रञ्जनालाई घर जान भन्दै सम्झाउन खोजिन् । रविले पनि घर लैजान खोजे तर रञ्जना जान मानिनन् । मंसिर १३ गते रञ्जनाले अस्ट्रेलिया फर्कनुपर्ने थियो ।

पत्नी रञ्जनाले नमानेपछि रवि एक्लै मंसिर ७ गते चितवनको राप्ती नगरपालिका भण्डारास्थित घर फर्किए । घरमा आमा बिमलाले सोधिन्, ‘बुहारी किन नआएको ?’ रविले कुरा लुकाउँदै भोलिपर्सी आउने जानकारी दिए ।

रवि मंसिर ९ गते फेरि ससुराली गए तर रञ्जना अझै घर जान मानिनन् । त्यसपछि दुवैबीच झगडा भयो । रवि त्यहीँ राति फेरि एक्लै घर फर्किए । अर्को दिन बिहान साढे ३ बजे रवि घरनजिकै सडकमा पल्टिरहेको अवस्थामा भेटिए ।

रविलाई भरतपुर अस्पतालमा भर्ना गरियो । रविले विष सेवन गरेकोबारे अस्पतालमा लगेपछि आमा बिमला र बुवा चन्द्र रुवालीले थाहा पाए । उपचारको क्रममा रविको मृत्यु भयो ।

रञ्जनाको दुर्व्य वहारका कारण रविको मृत्यु भएको भन्दै बुवा चन्द्रले रञ्जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहन गरेको अभियोगमा उजुरी दिएका थिए ।

तपाईको प्रतिक्रिया