काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई शुक्रबार राजीनामा गर्न लगाएर प्रतिनिधिसाभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरलाई गराउने नेकपाले तयारी गरेको छ । सोहीअनुसार संसद सचिवालयले पनि तयारी थालेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान सभामुख कसलाई बनाउने भन्नेबारेछलफल हुने भएको छ। दाहाल चितवनबाट फर्किए लगत्तै बालुवाटारमा छलफल हुने दुवै अध्यक्षका सचिवालयले जानकारी दिएका छन्।

ओली र दाहालबीच उपसभामुखलाई राजीनामा गराउनेबारे पनि छलफल हुनेछ। प्रतिपक्षी कांग्रेसले उपसभामुखले प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन कार्यतालिका अगाडि बढाएमा जटिलता आउने सन्देश नेकपा नेतृत्वलाईदिइसकेकाले तुम्बाहाङ्फेलाई राजीनामा गराउनेबारे छलफल हुने नेकपाका एक नेताले जानकारी दिए। ती नेताका अनुसार अध्यक्षद्वयले उपसभामुखलाई राजीनामा गराएर सभामुखको निर्वाचन निर्विवाद होस् भन्ने नेकपाको चाहना छ।

सभामुख र उपसभामुख फरक(फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ। यो व्यवस्था कार्यान्वयन गराउन अहिले नेकपा तयार रहेको छ भने विगतमा उक्त व्यवस्था कार्यान्वयन गराउन भनेर संसद अवरुद्ध गरेको कांग्रेस पनि चनाखो भएको छ।

उपसभामुखले शुक्रबार नै राजीनामा दिएमा संसद सचिवालयले भने प्रतिनिधिसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट गराउने आन्तरिक तयारी थालेको छ। संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सचिवालयका अन्य अधिकारीहरूसँग महन्थ ठाकुरलाई अध्यक्षता गराउने तयारी थाल्न भनिसकेको स्रोतले बतायो।

तुम्बाहाङ्फेले राजीनामा दिएको खण्डमा ठाकुरलाई राष्ट्रपतिबाट शपथ ग्रहण गराएर प्रतिनिधिसभाको अध्यक्षता गराउने तयारी भइरहेको हो। यसअघि पनि ठाकुरले नै ज्येष्ठ सदस्यका हैसियतमा प्रतिनिधिसभा बैठक संचालन गरिसकेका छन्। प्रतिनिधिसभा बैठक शुक्रबार १ बजेका लागि आह्वान गरिएको छ।

सचिवालयको रेकर्डअनुसार ज्येष्ठ सांसद भने राजपाका महिन्द्रराय यादव हुन्। तर नागरिकतामा वास्तविक उमेरभन्दा बढी राखिएको उनले नै स्वीकार गर्दै आएका छन्। उमेरका आधारमा आफूभन्दा ज्येष्ठ ठाकुरले अध्यक्षता गर्ने बैठकमा यादव अनुपस्थित हुने गरेका छन्।

तपाईको प्रतिक्रिया