जनकपुर / जनकपुरधाम उपमहानगरपालिका २१, कुर्थाका श्रीप्रसाद पञ्जियारले आफ्नी भाइबुहारी रानीदेवी पञ्जियारको आर्थिक लेनदेन र जग्गा विवादको कारण हत्या गरेको तथ्य आरोपित पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

घटनापछि फरार रहेका श्रीप्रसादलाई जिप्रका धनुषाका अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह र इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राम कुमार यादवको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका १ को रेल्वे ट्रयाकबाट बुधवार राति ९ बजे पक्राउ गरेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले आर्थिक लेनदेन र जग्गा विवादका कारण श्रीप्रसादले आफ्नै बुहारीमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जानकारी दिनुभयो ।
बुधवार दिउँसो बडहरीमा रहेको आँपको बगैँचामा श्रीप्रसादले धरिलो हतियार प्रयोग गरी बुहारी रानीको टाउको, नाक र बायाँ हातको तीन वटा औँला काटेर फरार भएका थिए ।

गम्भीर घाइते भएकी रानीलाई उपचारका लागि मोडेल अस्पताल लालगढमा पठाइएको र त्यहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउने क्रममा उहाँले आफ्नै जेठाजु श्रीप्रसादले खुकरी प्रहार गरी फरार भएको बयान दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया