भक्तपुर । प्रेमीसँग मिलेर आमाको हत्या गर्ने ईश्वरी भट्टराईलाई जन्मकैदको फैसला सुनाएको छ । उनीसँगै अन्य तीन जनालाई पनि जिल्ला अदालत भक्तपुरले बिहीबार जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले अभियोग मागदाबी बमोजिम छोरी ईश्वरी र हत्यामा संग्लन अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको श्रेस्तेदार घनेन्द्र अधिकारीले बताए ।

आफ्नो प्रेम सम्बन्धका विषयमा आमालाई थाहा भएको र अन्यत्र फैलाउन सक्ने आशंकामा छोरी ईश्वरीले आमा सावित्रा भट्टराईको हत्या गरेको अदालतको ठहर छ । ईश्वरीले १२ लाख रुपैयाँमा सुपारी दिएर आमाको हत्या गर्न लगाएको पुष्टी भएको अदालतले जनाएको छ ।

चाँगुनारायण नगरपालिका–७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर ६० वर्षीया आमा सावित्रा भट्टराईको हत्या गरेकी थिइन् ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँकी भट्टराई आफ्नी छोरी ज्वाईंको घरमा बस्दै आएकी थिइन् ।

प्रहरीले हत्याको विषयमा अनुसन्धान गर्दा हत्यामा छोरीकै संलग्नता रहेको भन्दै छोरी ईश्वरी, सिरहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रईशलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया