रौतहटको चपुरबाट काठमाडौंतर्फ जादै गरेको सुमो मकवानपुरमा दुर्घटना भएको छ ।

काठमाडौं-कुलेखानी-हेटौंडा सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवरमा सुमो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इन्द्रसरोवर गाउँपालिका-३ ओखर डाँडामा ना१ज ३४३३ नम्बरको सुमो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

चपुरबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दिउँसो १ बजेतीर सडकबाट झण्डै-४ सय मिटर तल खसेको दुर्घटना हुँदा घटनास्थलमा ३ जनाको मृत्यु भएको थियो भने उपचारका लागि लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जनकारी दिनुभयो ।

मृतकहरुमध्ये हालसम्म २ जनाको पहिचान खुलेको छ भने ३ जनाको अझै खुल्न सकेको छैन । मृत्यु हुनेहरुमा रौतहट चपुरका २१ वर्षीय मनिष विक र २० वर्षीय सिर्जना विक रहेका छन् ।

उनीहरु पतिपत्नी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकहरु तीनैजनाको शव हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको छ।

घाइते सर्लाही बागमती-११ का २२ वर्षीय रञ्जित रिजाल र रौतहट बरथुवा-५ का ५६ वर्षीय जय शाहको काठमाडौंस्थित बयोधा अस्पतालमा उपचार भइरहेको निरीक्षक कुर्मीले जानकारी दिनुभयो ।

यसैगरी सुमो चालक हेटौंडा-१७, गंगटेका अनिल विक र सुमोमा सवार सर्लाही बागमती-९ का २७ वर्षीय रञ्जित रिजालको काठमाडौंस्थित मेडिसिटीमा उपचार भइरहेको छ।

‘प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति र सवारी अनियन्त्रित हुँदा दुर्घटना भएको देखिएको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया