विराटनगर / वडा प्रहरी कार्यालय ‘क’ विराटनगरमा कार्यरत एक जना प्रहरी जवानको शव फेला परेको छ ।

भोजपुर घर भएका प्रहरी जवान २८ वर्षीय सञ्जीव खड्काको शव आफ्नै कार्यालयको शौचालय भित्र झुन्डिएको अवस्थामा आज दिउँसो फेला परेको हो ।
खड्काको शव भित्रबाट चुक्कुल र घाँटीमा मखलर (गाम्छा) को पासो लगाएर शौचालयको बलोमा झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । अधिकारीले प्रहरी जवान खड्काले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने बताए । परिवारका सदस्य आएपछि शव जिम्मा लगाइने उनले बताए । कानुनी प्रक्रिया पूरा गर्दै शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ ।

मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी दरबन्दी भएका खड्का चार दिनदेखि मात्रै वडा प्रहरी कार्यालयमा कार्यरत थिए । उर्लाबारीमै कार्यरत रहेका बेला एक वर्ष अघि उनले थ्रीनट थ्री राइफलबाट आफ्नै छात्तीमा गोली प्रहार गरेर आत्महत्याको प्रयास गरेका थिए । छात्तीमा गम्भीर चोट लागेका कारण त्यतिबेला कोशी अस्पतालमा उपचारपछि उनलाई विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो ।

एसपी अधिकारीका अनुसार जवान खड्काले यस अघि पनि पटक–पटक आत्महत्याको प्रयास गरेका थिए । मानसिक रुपमा विक्षिप्त रहेका उनलाई उपचार गराउने र सिनियर प्रहरी अधिकृतहरुबाट मनोपरामर्श दिने काम जारी थियो ।

तपाईको प्रतिक्रिया