विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले शनिवार विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीको भेला बोलाएका छन्।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अगुवाईमा पुस १२ गते विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री, सचिव र मुख्य न्यायधिवक्ताका वीचमा छलफल हुन लागेको हो। सो भेलाका लागि अन्य प्रदेशका मन्त्री,सचिव र न्यायधिवक्ता शुक्रबार बिराटनगर आएकाछन्।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलका अनुसार हालसम्म बनाइएका कानून, तिनको कार्यान्वयन र अनुभव आदान प्रदान हुनेछ। यसअघि प्रदेश-३ का आन्तरिक मामिला तथा कानून मन्त्री जम्कट्टेलको अगुवाईमा हेटौडामा सात वटै प्रदेशका मन्त्रीहरुको छलफल भएको थियो।

संघीय संसदले पारित गरेको संघीय प्रहरी कानूनसँग नबाझिने गरी प्रदेश ३ मा प्रदेश प्रहरी सम्बन्धी बिधेयक तयार पारी छलफलमा ल्याएको छ। यसअघि प्रदेश २ सरकारले बनाएको प्रदेश प्रहरी सम्बन्धी कानून संघीय प्रहरी ऐन नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन।

अन्य पाँच वटा प्रदेशले प्रदेश प्रहरी सम्बन्धी कानूनी मस्यौदा तयार पारी छलफलमा ल्याएका पनि छैनन्। प्रदेश-५ ले बनाएको संघ संस्था दर्ता सम्बन्धी कानून संघीय गृहमन्त्रायको निर्देशनपछि लागू नहुने अवस्थामा पुगेको छ। संविधान अनुसार संघीय कानूनसँग नबाझिने गरी प्रदेशले कानून बनाएर लागू गराउन सक्छन्।

तपाईको प्रतिक्रिया