१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाइ रहेका छन् । छिमकीकै १४ वर्षीया छोरीलाई दमाइले आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

दमाइले शरीरका संवेदनशील अंगमा हात लगाउने साथै यौन दुव्र्यवहार गरेको पीडितको उजुरी छ । दमाइको गोठ नजिकै पीडित घाँस काट्न आएको बेला ललाइ फकाइ बोलाएर गोठभित्र लगि दुई पटक जवरजस्ती करणी गरेको बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

जवरजस्ती करणीपछि कसैलाई नभन्नु भन्दै बालिकालाई उनले एक हजार रुपैयाँसमेत दिएको पीडित पक्षको दावी छ । पीडितको उजुरीको आधारमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो ।

पक्राउ गरेका दमाइलाई जवरजस्ती करणी मुद्दा दर्ता गरेर प्रहरी हिरासतमा राखिएको डिएसपी खड्काले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया