इनरुवा / सुनसरी जिल्ला अदालत इनरुवामा हेर्दाहेर्दैमा रहेको बलात्कारका आरोपित कृष्णबहादुर गिरी उपरको मुद्दामा आज थुनछेक हुँदैछ । शुक्रबार गिरीको बयान लिएको अदालतले आज उनीमाथि लागेको अभियोगमा थुनछेक बहस थाल्ने छ । प्रहरीले गिरीलाई अदालतमा उपस्थित गराएपछि थुनछेकको प्रकृया अघि बढ्ने छ ।

सुनसरी जिल्ला अदालतका अनुसार थुनछेककालागि ११ जनाको वकालतनामा परेको छ । बहसकै क्रममा समेत थप वकालतनामा दर्ता हुन सक्ने भएकाले कतिजनाले बहस गर्नेछन् भन्ने यकिन भने अहिलेनै गर्न नसकिने अदालतको भनाई छ । पीडित महिलाको तर्फबाट सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायधिवक्ता गोकुलबहादुर निरौला सहित ६ जनाले बहस गर्ने छन् । वादी तर्फका न्यायधिवक्ताहरुमा अनिल रेग्मी, अनन्त न्यौपाने, नवराज विष्ट, रेणुका राई र रेवती सुवेदी रहेका छन् ।

त्यसैगरी प्रतिवादी तर्फबाट डा. दिनेशराज सत्याल सहित सरोज गिरी, मोहन कोइराला, रमेश पराजुली र रुपेश कोइरालाले गिरीको बचाउमा वकालत गर्दै छन् । थुनछेक बहस बेलैमा सकिए अदालतले फैसला आजै साँझसम्म गर्न सक्ने सम्भावना रहेको कानुन व्यवसायीहरुको भनाई छ । बहस लम्बिएको खण्डमा भने अदालती प्रकृया अर्को दिनलाई सर्न सक्ने सम्भावना समेत रहने अनुमान लगाइएको छ । भोलि सोमबार अदालत छेउमै हटिया लाग्ने र भीडभाड बढी हुने सम्भावनालाई मध्यनजर गर्दै आज कार्यालय समय भित्रै बहस सकिए साँझ अबेर सम्ममा फैसला आउन सक्ने समेत अडकलबाजी भैरहेका छन् ।

कृष्णदासका अनुयायीहरुले बाबा धरौटीमा रिहा हुने प्रवल सम्भावनालाई दर्शाइरहेका छन् । मिसिल कमजोर रहेको र अभियोग प्रमाणित हुने ठोस प्रमाण नभएको भन्दै उनीहरुले बिजयोत्सवको तयारी थालिएको जनाएका छन् । पीडीत महिला पक्षले भने अदालतले बलात्कारी बाबाको चरित्र पर्दाफास गर्नेमा विश्वस्त रहेको बताएका छन् । शुक्रबार अदालत भित्र गिरीको बयान लिइदै गर्दा परिषर बाहिर समर्थन र विरोधमा भएका नाराबाजी र समूहगत हुललाई मध्यनजर गर्दै आज भने प्रहरीले कडाई गर्ने संकेत गरेको छ ।

सरकारी वलिक मार्फत अदालतमा पेश भएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मूलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १,२ र ३(ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्ण दास भन्ने कृष्णबहादुर गिरी उपर सजाय माग दावी गरिएको छ । अदालतले थुनछेक पछि कृष्ण बहादुर गिरीको हकमा सादा तारिक, धरौटी वा पूर्पक्ष्य मध्ये कुनै एक आदेश दिन सक्छ । अभियोग प्रमाणित भए गिरीलाई ७ देखि १० वर्ष सजाय हुन सक्ने छ । गिरीले शुक्रबार अदालत समक्ष आफुमाथि लगाइएको अभियोग उपर इन्कारी बयान दिएका छन् ।

तपाईको प्रतिक्रिया