ताप्लेजुङ / ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् ।

बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभाईस, रिमोट कन्ट्रोल सेट, ३ थान, ब्याट्रि सेट २ थान , जिलेटिन ५४ थान, सेफ्टी फ्युज वायर साँढे ३ फिट तथा अन्य बिभिन्न प्रकारका दस्तावेजहरु समेत बरामद गरेको छ । हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ परेका बस्नेतको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराह क्षेत्र एरियाबाट हतियार सहित १ महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा अजिरकोट काफल डाँडा बस्ने-४१ वर्षीया उमा भुजेल रहेकी छिन । उनलाई १ थान रिभल्बर र ५ राउण्ड गोली सहित पक्राउ गरिएको हो। स्कुटीमा सवार गरी आईरहेका दुई जना उपर चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार रहेकी उमाको साथबाट Made in USA लेखेको रिभल्वर १ थान, गोली ५ थान र मोबाईल ५ थान फेला पारी बरामद गरिएको हो । स्कुटी चालक जिल्ला झापा दमक बेलडाँगी बस्ने ३० वर्षीय सुमन सिंह पौडेल समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया