धनुषा — प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय र नेपाली काग्रेसकी सांसद प्रमिला देवी दासबीच वादविवाद भएको छ । राज्यमन्त्री राय र सांसद दासबीच प्रदेशसभा भवन अगाडी वादविवाद भएको हो ।

प्रदेशसभा अगाडि गत आर्थिक वर्षको बाँकी भुक्तानीको माग गर्दै प्रदर्शन गरिरहेका उपभोक्ता समिति सदस्यहरुसँग छलफल गरी रहेका राज्यमन्त्री रायसँग संसद बैठक अवरुद्ध गरेर बाहिरिएकी दास वादविवादमा उत्रिएकी थिइन ।

राज्यमन्त्री रायमाथि जाइलाग्दै सांसद दासले मन्त्रीहरुकै कारण भुक्तानी नभएको आरोप लगाइन ।

दासलाई संयम हुन आग्रह गर्दै राज्यमन्त्री रायले बाँकी रहेको भुक्तानी तत्काल हुनुपर्ने पक्षमा आफु रहेको बताए । दासलाई व्यवहार सुधार्न आग्रह गर्दै राज्यमन्त्री रायले भने, ‘यसरी हात समाएर टाँस्दा लाज लाग्दैन । महिला सांसद भएर आफनो गरिमामा बस्नुस् ।’

सांसद दासले भने आफू शरीरमा टाँसिन नआएको भन्दै तत्काल प्रतिकार गरेकी थिइन ।

प्रदेशसभाबाट निस्केका सांसदहरुले दुवै जनालाई छुट्टाएर विवाद साम्य पारेका थिए । विवाद भइरहेको समयमा काग्रेस संसदीय दलका नेता रामसरोज यादव आएर सांसद दासलाई विवाद नगर्न भन्दै छुट्टाएका थिए ।

गत आर्थिक वर्षमा करिब ८ सय योजनाको ९१ करोड भुक्तानी प्रदेश सरकारले नगरेको भन्दै विपक्षी दल नेकपा र कांग्रेसले दुई दिनदेखि प्रदेशसभा अवरुद्ध गर्दै आएका छन् । सरकार बिरुद्ध सडकमा उपभोक्ता समितिले प्रदर्शनसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया