रोमानियाको राजधानी बूकरेस्टस्थित फ्लोर्यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि आगो लागेर एक बिरामीको मृत्यु भएको छ । आगो लागेर ६६ वर्षीया महिलाको मृत्यु भएको हो ।

शल्यक्रिया गर्नुअघि महिलाको शरीरमा अल्कोहलयुक्त ‘डिसइन्फेक्टेन्ट’ प्रयोग गरिएको थियो । चिकित्सकले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिप्दा अचेत अवस्थामा राखिएको महिलाको शरीरभरि आगो फैलिएको जनाईएको छ । आगोले शरीरको ४० प्रतिशत भाग जलेको महिलाको अस्पतालमा उपचारकै क्रममा एक सातापछि देहान्त हुन गयो । घटना सार्वजनिक भएपछि छानबीन सुरु गरिएको छ ।

उनलाई ‘प्यान्क्रियाज’को क्यान्सर भएको थियो । डिसेम्बर २२ मा उनको शल्यक्रिया गरिएको थियो ।मृतकका आफन्तले अस्पतालले दुर्घटना मात्रै भएको र विस्तृत विवरण नदिएको रोमानियाका सञ्चारमाध्यमहरुलाई बताए ।एजेन्सी

रोमानियाका स्वास्थ्यमन्त्री भिक्टर कोस्टाकले भने सत्य तथ्य पत्ता लगाउन आफू र मन्त्रालय दुवैले सहकार्य गरेको बताए । बीबीसीका अनुसार यूरोपेली राष्ट्र रोमानियामा सरकारले स्वास्थ्य उपचारमा निकै कम खर्चिदै आएको छ । रोमानियामा बाल मृत्यु दर उच्च रहेको छ ।

तपाईको प्रतिक्रिया