प्रदेश १ सरकारले नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन बुधबार प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ गरेको हो ।

विराटनगरको शहीद रंगशालामा हेलिकप्टरबाट पुष्पवृष्टिसहित सुरु भएको पर्यटन वर्षको शुभारम्भ हेर्न रंगशालाको प्याराफिड भरिएको थियो । भ्रमण वर्षमा विभिन्न जातजातीका झाकीहरू प्रस्तुत गरिएको थियो । भ्रमण वर्षको शुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भिजिट नेपाल २०२०‘’ मा पाँच लाख पर्यटकलाई एक नम्बर प्रदेश भ्रमण गराउने लक्ष्य राखिएको बताए ।

भ्रमण वर्षमा नेपाल सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । प्रदेश सरकारले पाँच लाखलाई प्रदेश १ का पर्यटकीय गन्तव्यसम्म ल्याउने लक्ष्य राखेको छ । प्रदेश सरकारले आगामी पाँच वर्षभित्र प्रदेशको ग्राहस्त उत्पादनमा पर्यटन क्षेत्रको योगदान पाँच प्रतिशत बनाउने लक्ष्य राखेको छ । प्रदेश १ को कुल ग्राहस्त उत्पादनमा पर्यटन क्षेत्रको १.९६ प्रतिशत योगदान छ ।

पर्यटन वर्षमा आधार तयार हुने बताउँदै मुख्यमन्त्री राईले आगामी पाँच वर्षभित्र पाँच प्रतिशत पुग्ने बताए । पर्यटन क्षेत्रमा हाल ३२ हजारले रोजगार छन् । आगामी पाँच वर्षभित्र भने तीन गुणाले वृद्धि हुने उनको भनाइ छ ।

विविधताले भरिपूर्ण प्रदेश एकमा प्रशस्त सम्भावना रहेको बताउँदै उनले नेपालको होचो स्थान केचना कवलदेखि विश्वको अग्लो स्थान सगरमाथासहित पर्यटकीय क्षेत्रको अवलोकन प्रदेशबाट हुने बताए ।

प्रदेश १ मा धार्मिक पर्यटकीय क्षेत्रहरू बराहक्षेत्र, हलेसी, पाथिभरा, भेडेटार, नाम्जे, सन्दकपुर, श्रीअन्तु, तीनजुरे मिल्के जलजले, कन्याम, सभापोखरी, नाम्चे–दूधकुण्ड, सिलिचुंग साल्पा पोखरीलगायत स्थानसम्म पर्यटकहरूलाई आकर्षित गर्न योजना बनाइरहेको उनले बताए ।

पर्यटन वर्षको प्रचारका लागि एक नम्बर प्रदेश सरकरले मे महिनामा सगरमाथा समिटर्स समिट आयोजना गर्न लागिएको मुख्यमन्त्री राईले बताए । सगरमाथा दिवसको अवसर पारेर सगरमाथा आरोहरण गरेका राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्वतारोहीहरू सम्मिलित समिट आयोजना गर्न लागिएको मुख्यमन्त्री राईले बताए । सम्मेलनको माध्यमबाट पर्यटन प्रचारप्रसारमा योगदान पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा उपस्थित भएका भारतीय ग्रामिण पर्यटनविज्ञ राज बासुले प्रदेश १ का पर्यटकीय क्षेत्र ग्रमिण पर्यटनको पहिलो गन्तब्य बन्न सक्ने बताएका छन् । नेपाल र भारतका ग्रामिण पर्यटन क्षेत्रलाई जोडेर प्यकेज बनाउन सके पर्यटक भित्र्याउन सहज हुने उनको भनाइ छ ।

विराटनगरमा आखाँको उपचारका लागि भन्दै भारतबाट ठूलो संख्यामा पर्यटकहरू आउँछन् । उपचारका लागि आउने पर्यटकहरूमार्फत भारतका प्रदेशहरूमा भ्रमण वर्षको प्रचारप्रसार गर्नपर्ने उनको भनाइ थियो । इन्डो नेपाल ग्रामिण टुरिजम विकास गर्न सके दक्षिण एसियाको पहिलो गन्तव्य बन्न सक्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया