काठमाडौँ । हात्तीको आफ्नै चाल हुन्छ । तर बिहीबार सौराहामा हात्तीले बिरालो चाल अर्थात ‘क्याट वाक’ पनि देखाए । पाँच हात्ती ‘सुन्दरी’ हुने प्रतिस्पर्धामा उत्रेका थिए । त्यसैले माहुतेको इशारामा उनीहरुले आ–आफ्नो कला पस्किए । सबैलाई उछिन्दै बबकिनकलीलाई यो पटकको ‘हात्ती सुन्दरीको’ उपाधि प्राप्त भयो । सौराहामा सञ्चालन हुने हात्ती महोत्सवका अनेक गतिविधिमध्ये ‘हात्ती सुन्दरी’ पनि एक हो ।

निर्णायकहरुले विभिन्न १० वटा मापदण्डका आधारमा ‘हात्ती सुन्दरी’ घोषणा गर्छन््। ‘क्याट वाक भनेको हात्तीको हिँडाईको चाल कत्तिको मिलेको छ भनेर जाँच्ने आधार हो। हात्तीले माहुतेबाट आउने आदेशहरु कत्तिको पालना गर्छ भन्ने पनि हामी हेर्छौं। किनकि यसले हात्ती र माहुतेबीच कस्तो सम्बन्ध छ भन्ने देखाउँछ,’ निर्णायकमध्येका एक परमानन्द गर्गले भने, ‘मायालु र सिपालु माहुतेका आदेशहरु हात्तीले सहर्ष पालना गर्दछ।’

बबकिनकली सौराहाको १० वर्षको पोथी हात्ती हो। प्रेम चौधरी यसका माहुते हुन्। आफुले हात्तीलाई राम्रो र स्वस्थ बनाउन सधैं मिहेनत गर्ने उनले बताए। ‘कार्यक्रम भएको हुँदा सिंगारेर ल्याएको हो। अरु बेला सधैं यसरी त सिँगार्ने काम हुँदैन। तर यसको खानपान, स्वास्थ्य र तनावमा परे नपरेको सबै कुरा ख्याल गरेर व्यवहार गर्नु पर्छ। मान्छेको माया पाए हात्तीले पनि माया नै गर्दछ,’ प्रेमले भने।

निर्णायकहरुले हात्तीको सिँगारपटार, नङको सफाई, आँखा, कान र सुँड सफा भए नभएको, माहुतेको अनुभव र अनुशासन, माहुतेको पोसाक, माहुतेले हात्तीलाई हान्ने पिट्ने गरे नगरेकोजस्ता कुरा विश्लेषण गरेर नम्बर दिएका थिए। उमेरको आधारमा हात्तीको छालाको चिल्लो र चमक, हात्तीको फुर्तीलोपना र अनुशासन तथा हात्तीको हिँडाईजस्ता कुरालाई आधार मानेर नम्बर दिएका थिए।

बबकिनकलीले ६९ दशमलम ३३ अंक ल्याएर विजेता हुँदा ५८ नम्बर ल्याएर ३२ वर्षकी चम्पाकली उपविजेता भयो। त्यसैगरी २६ वर्षको जयमतिकलीले ५२ दशमलव ६७ नम्बर ल्याएर तेस्रो भयो। ‘हात्ती र माहुतेबीच कसरी राम्रो सम्बन्ध बनाउने भनेर यस्तो कार्यक्रम गरेको हो। राम्रो स्याहार पुर्‍याएर आफ्नो हात्ती अगाडि हुन्छ भन्ने भावना माहुतेहरुलाई पर्ने छ,’ युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले भने।

पुस १० गतेबाट सुरु भएको हात्ती महोत्सवमा ‘सुन्दरी’का लागि पाँच हात्ती जुटेका थिए। सेल्फीकली र सम्वृद्धिकली पुस ११ गते भएको पहिलो चरणबाट बाहिरिएका थिए। क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर सन् २००४ देखि सुरु भएको हात्ती महोत्सवमा सन् २०१० देखि ‘हात्ती सुन्दरी’ प्रतियोगिता जोडिएको हो। जंगल सफारीका लागि सौराहामा हात्तीको प्रयोग हुँदै आएको छ।

हात्ती महोत्सवको प्रमुख गतिविधि इलिफेन्ट फास्ट वाकमा एकताकली विजयी भएको छ। त्यसैगरी लक्कीकली दोस्रो र गुलाबकली तेस्रो भएका छन्। इलिफेन्ट फास्ट वाकमा १० हात्ती सहभागी थिए। प्रारम्भिक चरणबाट छनोट भएका ६ हात्ती बिहीबार भएको फाइनल प्रतिस्पर्धामा जुटेका थिए। सौराहामा सुरुमा तीन दिनको हात्ती दौड प्रतियोगिता हुन्थ्यो।

पशु कल्याण र पशु अधिकारको क्षेत्रमा सक्रिय संघ संस्थाले हात्ती दौडाउनु हात्तीको स्वभाव प्रतिकुल हुने कुरा उठाएपछि नाम बदलेर हात्ती महोत्सव र महोत्सवमा हुने गतिविधि हात्ती दौडलाई हात्ती लम्काई अर्थात ‘इलिफेन्ट फास्ट वाक’ भन्न थालिएको हो। सुरुमा तीन दिन, पछि पाँच दिन हुन थालेको हात्ती महोत्सव यो वर्ष नौ दिनको भएको छ। शुक्रबार महोत्सव सकिने छ। हात्ती पोलो र छावा फुटबलको फाइनल खेल पनि शुक्रबार हुनेछ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया