इटहरीः आइतबार इटहरीकी उपमेयर लक्ष्मी गौतम १० बज्नु अगाडि नै कार्यालयमा पुगिन् । उपमेयर १० बज्न १० मिनेट बाँकी रहँदा कार्यालयभित्र छिर्दा ३ जना कर्मचारी मात्र रहेका थिए । कर्मचारी ढिलो आउने आएर पनि बीचमा कार्यालय समयमा कार्यालयमा नभई व्यक्तिगत काममा जाने गरेको गुनासो आएपछि उनी १० बजेभन्दा अगाडि नै कर्मचारीको छड्के निरीक्षण गर्न गएकी थिइन् ।

गौतमले कार्यालय प्रवेशसँगै दैनिक हाजिरी तथा लग बुकलाई गेटमै ल्याएर हाजिर गर्ने व्यवस्था आइतबार मिलाइन् । १० बजे सम्ममा केही कर्मचारी मात्र कार्यालयमा हाजिर भए । १० बजेदेखि कार्यालयमा छिर्न थालेका कर्मचारीले १ बजेसम्म पनि हाजिर गरेर काम गरेका थिए ।

१ बजेसम्म हाजिर गर्ने मात्र होइन सोही दिन हाजिर गरेका तर कार्यकक्षमा नभएका कर्मचारीको सङ्ख्या पनि उल्लेख्य रहेको उपमहानगर स्रोतले बतायो । आइतबारमात्र होइन विभिन्न बहनामा उपमहानगरपालिकाका कर्मचारी हाजिर गर्दै व्यक्तिगत काममा जाने गरेको गुनासो कार्यपालिकासम्म पुगेपछि गौतमले छड्के निरीक्षण गरेकी थिइन् ।
दिनभरको छड्के निरीक्षणपछि गौतमले प्रतिवेदन तयार पारिन् । कार्यालय समयपश्चात् कर्मचारीको बैठक बोलाएर उपमेयरले बनाएको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतले सुनाएपछि सबै कर्मचारीले मुख हेराहेर गरेका थिए ।

नियमित समयको मात्र होइन कार्यालय समयमा बाहिर जाँदा पनि अनिवार्य अनुमति लिएर मात्र जान उपमेयरले प्रमुख प्रशासकीय अधिकृतमार्फत् निर्देशन दिइन् । हाजिर गरेर व्यक्तिगत काममा बाहिर जाने गुनासो आएपछि लग बुकमा अनिवार्य कारण जनाएर मात्र बाहिर जाने नियमलाई कडाइ गरिएको उपप्रमुख गौतमले जानकारी दिइन् ।
‘नयाँ गरेको त सिस्टममा ल्याउन मात्र खोजेको हो’, उपप्रमुख गौतमले भनिन्, ‘बजेट कार्यान्वयन अलि जटिल बन्दै गयो । बजेट कार्यान्वयन गर्न कर्मचारीको सक्रियता बढाउन पनि लयमा ल्याउनु पर्ने भयो ।’
उपप्रमुखले आइतबार गरेको अनुगमनको प्रभाव सोमबार भने देखिएको थियो । सोमबार ३ बजे उपमहानगर कार्यालय पुग्दा प्रशासन शाखाको लग बुकमा ३ जना कर्मचारी कार्यालयको काममा बाहिर गएको उल्लेख गरिएको थियो । प्रशासन फाँटमा रहेको सो लग बुकमा अन्य समयमा जस्तो मनलाग्दी नभई सम्बन्धित शाखाको अनुमतिमा मात्र बाहिर जाने प्रावधान रहेको उपमहानगरले जानकारी दिएको हो ।

उपमहानगरमा मात्र होइन कर्मचारी समायोजनले गर्दा सबै स्थानीय तहमा कर्मचारीको कमी छ । तर तत्काल भएका कर्मचारीहरुले पनि काममा जिम्मेवारी बहन गर्न आनाकानी गरेकाले कर्मचारीलाई जिम्मेवारीबोध गराउन खोजिएको गौतमले बताइन् ।

तपाईको प्रतिक्रिया