विराटनगर / विराटनगर महानगरपालिका र मेची नगरपालिकाले भगिनी सम्बन्ध स्थापनाका लागि प्रदेश १ सरकारसमक्ष पठाएको प्रस्ताव स्वीकृती भएको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनी मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा विराटनगर महानगरपालिकाले चीनको उहु शहरसँग र मेची नगरले बेलायतको एक शहरसँग भगिनी सम्बन्ध स्थापना गर्नका लागि प्रस्ताव पेश भएको बताए । मन्त्री कार्कीले दुवै पालिकाबाट आएको प्रस्तावलाई स्वीकृत गर्दै प्रदेश सरकारले संघीय सरकारसमक्ष पठाउने निर्णय गरेको जानकारी दिए ।

त्यसैगरि, जिल्ला प्रहरी कार्यालय धनकुटाको भवन जीर्ण अवस्थामा रहेकोले हालका लागि प्रदेश सरकार मातहतमा रहेको एक सरकारी भवन प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्री कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माण नहुञ्जेलसम्मका लागि प्रहरीले प्रदेश सरकारको मातहतमा रहेको भवनमा प्रयोग गर्न सक्नेछ । यद्यपी, नयाँ भवनका लागि बजेट बिनियोजन भइसकेको छ ।

त्यसैगरि, २ करोड ५० लाख रुपैयाँको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र ५० लाख रुपैयाँ बजेटको विशेष कार्यक्रम २०७६ संशोधन गर्न बैठकले स्वीकृत प्रदान गरिएको छ । बैठकले मोरङको उर्लाबारीस्थित मंगलबारेमा सञ्चालनमा रहेको अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्दै प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ । त्यसैगरि स्वास्थ्य शिविर सञ्चालन कार्यविधी क्षेत्रलाई स्वीकृत प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया