नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति अब परिवर्तन गर्न नसकिने बताएका छन् ।

१४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने जानकारी देउवाले असन्तुष्ट समूहका जिल्ला सभापतिहरुलाई बताएका हुन् ।

संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं पुगेका कांग्रेसका ५२ जिल्ला सभापतिहरुसँगको भेटमा उनले यस्तो बताए । देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन तयार रहेको बताए ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसम्म लगातार छलफल गर्दा पनि सहमति हुन नसकेपछि अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर ११ पुसको निर्णय गरेको बताए ।

तर देउवाले महाधिवेशनको मिति २०७७ फागुन ७ भने परिर्वतन नहुने प्रष्ट पारेका छन् । त्यो मिति कायम राखेर अरु कार्यतालिका मिलाउन र क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउन तयार रहेको उनले बताएका छन् ।
सोही क्रममा उपसभापति विजयकुमार गच्छदारले भने जिल्ला सभापतिहरुको जायज मागलाई सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया