विराटनगर/ सार्वजनिक बिदाको दिन सरकारी कर्मचारीले सरकारी सवारीसाधन दुरूपयोग गर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शनिबार बिदाको दिन विराटनगर महानगरपालिकाबाट चेकजाँचको क्रममा सरकारी नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो ।

पछिल्लो समय सरकारी सवारीको दुरुपयोग बढ्दै गएको छ । सरकारी कर्मचारीले आफ्नो निजी प्रयोगका लागि समेत सरकारी सवारी साधन प्रयोग गर्ने गरेको घटना नौलो होइन । अझ बिदाको दिनसमेत सरकारी कर्मचारीले सरकारी सवारीसाधन दुरुपयोग गर्ने गरेको पाइएको हो ।

शनिबार मात्र एकैदिन आधा दर्जन सरकारी गाडी मोरङ ट्राफिक प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । शनिबार बिदाको दिन सरकारी सवारीसाधन चलाएर दुरुपयोग गरेको भन्दै विराटनगरबाट चार पाङ्ग्रे र मोटरसाइकल नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राकेशकुमार पोद्दारले जानकारी दिए । बिदाका दिन सरकारी नम्बर प्लेटका सवारीसाधन सडकमा अनुमति बिना चलाएकोले नियन्त्रणमा लिएको उनले बताए । ‘शनिबार र सार्वजनिक बिदाका दिन जिल्लाभित्रै सरकारी गाडी चलाउन जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णय गरेको छ’ उनले भने, ‘प्रशासनको अनुमति बिना चलाइएका सवारी कारबाहीमा पर्छन् ।’

बिदाको दिन सरकारी सवारीसाधन चलाउन नपाइने नियम भएको बताउँदै पालना नगर्नेलाई शनिबारबाट कारबाही गर्न शुरु गरेको उनले बताए । आउँदा दिनमा पनि चेकजाँचमा कडाइ गरिने उनको भनाइ छ । ‘कार्यालयको प्रयोजनका लागि दिइएको सवारीसाधन बिदाका दिन किन चलाउने ? बिदाका दिन चलाउने हो भने सम्बन्धित निकायबाट पास बनाएर चलाए भयो नि’ –उनले भने । यसअघि सरकारी सवारी बिदाका दिन चलाउनेदेखि पारिवारिक कामका लागि समेत प्रयोग भएकोले आउँदा दिनमा सरकारी गाडीको दुरुपयोग रोक्ने ट्राफिक प्रहरीको भनाइ छ । सरकारी निकायले सवारीसाधन आफूखुशी जिल्लाभित्र र बाहिर सञ्चालन गर्न थालेपछि प्रशासनले कडाइ गरेको हो ।

मोरङ ट्राफिक प्रहरीले शनिबार २ घण्टामा ट्राफिक नियमको पालना नगरी सवारी चलाउने सवारी साधनलाई कारबाही गरी ४० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको इन्स्पेक्टर पोद्दारले जानकारी दिए । शनिबार दिउँसो विराटनगर–४ दूधफार्मअगाडि कोशी राजमार्गमा सवारी चेकजाँचमा इन्स्पेक्टर पोद्दार आफै खटिएका थिए । जसमा तीव्र गतिमा सवारी चलाउने १५ वटा सवारी साधन कारबाहीमा परेका थिए । ट्राफिक प्रहरीले तीव्र गतिमा कुदाएको सवारी साधनको मापन ‘राडर गन’ मार्फत् गर्दै आएको छ । तीव्र गतिमा सवारी चलाएर कारबाहीमा पर्ने मोटसाइकल, कारहरू रहेका छन् । इन्स्पेक्टर पोद्दार आफैले तीव्र गतिमा चलाउने सवारी साधनहरूको गति नाप्ने राडार गनको प्रयोग गरेका थिए ।

‘दुर्घटना न्यूनीकरण गर्न चेकिङमा कडाइ गरिएको हो’ उनले भने, ‘चेकिङसँगै ट्राफिक नियमको बारेमा पनि सवारी चालकलाई जानकारी गराउँदै आएका छौं ।’ ट्राफिक प्रहरीले २ घण्टा गरेको चेकिङको क्रममा क्षमताभन्दा बढी भार बोक्ने सवारीदेखि, लाइसेन्स, ब्लुबुक नभएको, नम्बर प्लेट नलेखेको र मोडिफाई (स्वरूप परिवर्तन) गरिएको सवारी साधनलाई कारबाही गरिएको मोरङ ट्राफिकले जनाएको छ ।

तपाईको प्रतिक्रिया