नेकपालाई सभामुख छनोट गर्न समस्या भए आफ्नो पार्टी सभामुख चयन गर्न तयार रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी भित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने बताए । नेकपाले सभामुखमा सहमति गर्न नसके आफूलाई दिनुपर्ने उनको भनाइ थियो ।

‘नेकपाले सभामुख चयन गर्न सकेको छैन्,’ उनले भने, ‘उहाँहरू मिल्न सक्नुहुन्न भने हामीलाई दिए हुन्छ हामी चलाइदिन्छौ सभामुख ।’ उनले तत्काल समस्या सामधान गरी संसाद सञ्चालन गर्न माग गरे ।

एमसीसीको पक्षमा कांग्रेस

कांग्रेस सभापति देउवाले अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ एमसीसीलाई चाँडै संसदबाट अनुमोदन गरी कार्यान्यनमा जानुपर्ने बताए । एमसीसी विकासका लागि अमेरिकी सहयोग भएकाले सरकारले तत्काल संसदबाट अनुमोदन गर्नुपर्ने उनको भनाइ थियो । ‘कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा छ,’ देउवाले भने, ‘यो नेपालको विकासमा अमेरिकी सहयोग हो ।’

निर्धारित मितिमा महाधिवेशन

देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने बताए । महाधिवेशन मितिलाई लिएर असन्तुष्ट बनेका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरेको बताउँदै उनले मिति परिवर्तन नहुने बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको ११ पुसमा बसेको बैठकले २०७७ फागुन ७–१० गते १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया