काठमाडौं, / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको ६ माघमा बस्ने बैठकलाई नियमित गरी सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले ४ पुसबाट प्रारम्भ गर्न आह्वान गरिएको संसद् अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दलको कमजोरीको भएको आरोप लगाएको छ ।

संविधानको धारा ९१ को उपधारा २० अनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थामा कांग्रेस संसदीय दलको दृढता दोहो¥याउँदै सोही मुताविक गर्न माग गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।

काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले लामो प्रक्रिया पार गर्दै नेपालको हितमा कार्यान्वयनको दिशामा अगाडि बढेको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्नसमेत माग गरेको छ ।

साथै सो विषयमा केही सञ्चारमाध्यमबाट पार्टी सभापति देउवा र अन्य कांग्रेसका कतिपय सांसद तथा नेताहरुबाट आएको भनिएको यसविरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित रहेको कांग्रेसले स्पष्ट पारेको छ ।

९ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका निम्ति कांग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्न अन्य राजनीतिक दल र मतदातालाई बैठकले आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक खाणले बताए ।

तपाईको प्रतिक्रिया